विश्व समाचार

अमेरिकामा कोरोना संक्रमितको संख्या ८० लाख नाघ्यो, दुई लाख २० हजारको मृत्यु

गणेश थापा, क्यालिफोर्निया

नोवेल कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा ठूलो संख्यामा मानिसहरू प्रभावित भएका छन् । देशभर फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको अमेरिकामा संक्रमितको संख्या ८० लाख नाघेको छ । गएका दुई महिना केही कमी देखिएको भाइरसको संक्रमण दर पछिल्ला केही दिनयता दैनिक ५० हजारको हाराहारीमा पुगेको तथ्यांकले देखाएको छ ।

यसैगरी मृतकको संख्या समेत दुई लाख २० हजार माथि पुगेको छ । गत फागुनबाट कोरोना भाइरसको सक्रिय संक्रमण देखिएयता अमेरिकामा आठ महिनाको अवधिमा सो संख्यामा मानिसको ज्यान गएको हो । कोभिड-१९ सम्बन्धी निरन्तर अभिलेख अपडेट गर्दै आइरहेको न्युजब्रेकका अनुसार कोरोना भाइरसको संक्रमणका कारण विश्वको सवैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा वितेको २४ घण्टाको अवधिमा ७ सय ७२ जनाको मृत्यु भएको छभने ५० हजार बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

गत जुलाईमा अमेरिकामा कोरोना संक्रमितको संख्या दैनिक ७७ हजारसम्म पुगेकोमा त्यसपछिको झण्डै दुई महिना सो संख्यामा निकै ह्रास आई आधाआधीमा झरेको थियो । तर, पछिल्ला दिनहरूमा संक्रमितको संख्यामा केही बृद्धि भई दैनिक करीव ५० हजार पुगेको छ । कोरोना संक्रमणका कारण प्रत्येक दिन ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाउनुपरेको अमेरिकामा विगत आठ सातायता मृतकको संख्यामा भने उलेख्य मात्रामा कमी आई दैनिक हजार/ पॉचसयको हराहारीमा झरेको छ ।

प्राप्त जानकारी अनुसार कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा यो मितिसम्ममा ३२ लाख ६० हजार मानिस संक्रमणमुक्त भई नियमित जीवनमा फर्किसकेका छन् भने अझैपनि निकै ठूलो संक्रमित संख्या भाइरससंगको कडा संघर्षमा सामेल छ । यता यस महामारीमा परी ज्यान गुमाउने संख्या मध्ये ५० वर्षमाथिको उमेर समूह अधिक छ भने ३० वर्षभन्दा कम उमेरका मानिसहरू न्यून मात्रामा रहेको तथ्यांकले औंल्याएको छ ।

उपलब्ध अभिलेख अनुसार कोरोना भाइरसको संक्रमण फैलिएका अमेरिकाका ५० वटै राज्यहरू मध्ये सवैभन्दा बढी मानवीय क्षति खेप्नुपरेको न्युयोर्कमा अहिले संक्रमित तथा मृतकको संख्या न्यून छ । यहॉ हालसम्म करीव ३३ हजार ३ सय मानिसको मृत्यु भएको छभने ४ लाख ८२ हजार मानिस संक्रमित छन् । न्युयोर्क नेपालीहरूको बाक्लो बसोबास भएको क्षेत्र समेत हो ।

कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म अमेरिकामा १७ जना नेपालीहरूको ज्यान गइसकेको छभने सयौंको संख्यामा संक्रमित रहेको यहॉका विभिन्न सामाजिक संघसंस्थाहरूले उल्लेख गरेका छन् ।

पछिल्लो समय क्यालिफोर्नियामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढेर करीव १६ हजार ६ सय माथि पुगेको छभने ८ लाख ६० हजार बढीमा संक्रमण देखिएको छ । हाल अन्य राज्यभन्दा क्यालिफोर्नियामा कोरोना संक्रमितको संख्या बढी छ । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म संसारभर झण्डै ११ लाख मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्या समेत ३ करोड ८३ लाख नाघेको छ ।

अमेरिकामा हालका दिनहरूमा कोरोना संक्रमण दरमा केही बृद्धि हुनुमा आगामी नोभेम्वर ३ मा नयॉ राष्ट्रपति चयनका लागि हुनगइरहेको निर्वाचनको प्रचारप्रसार तथा दलीय अभियानलाई समेत कतिपयले कारक तत्त्वको रूपमा लिएका छन् ।

चुनावी मैदानमा उत्रेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेन बीच निकै कडा प्रतिस्पर्धा हुने अड्कलबाजी गर्न थालिएको छ । कोरोना संक्रमण भएलगत्तै केहीदिनको अस्पताल बसाईपछि ह्वाइटहाउस फर्केका राष्ट्रपति ट्रम्पले आफू कोरोना विरोधी भएको भन्दै मंगलवार पेन्सिलवेनिया राज्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुकासाथै आफ्नो चुनावी अभियानलाई पुन: संचालन गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.