जल/वातावरण

बिहिबार मध्यान्हसम्म देशका विभिन्न स्थानमा गरी ११ जनाको कोरोनाका कारण मृत्यु

प्रदेश १ को धरान र विराटनगरमा एकैदिन आठजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वितेको २४ घण्टामा उपचारका क्रममा रहेका उनीहरुको मृत्यु भएको हो । त्यस्तै ललितपुर, रुपन्देही र अर्घाखाँचीमा एकएकजनाको मृत्यु भएको छ । बिहिबार मध्यानहसम्म ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।



समाचार अनुसार पछिल्लो २४ घण्टामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच जना र विराटनगरमा तीन जनाको मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पाँच जनाको मृत्यु भएको छ ।

प्रष्ठिानका सह प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिकाका एक महिला एक पुरुष, इटहरी उपमहानगरपालिकाका एक महिला र तेह्रथुमका दुई पुरुषको मृत्यु भएको हो ।

तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार विहान ७ बजेर १५ मिनेटमा मृत्यु भएको हो । मृगौलामा समस्या, मधुमेह र उच्च रक्तचापका विरामीमा रहेका पुरुषमा १० असोजमा संक्रमण पुष्टि भएको थियो । विरामीलाई ११ असोजमा प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।

इटहरी उपमहानगरपालिका २० की ७५ वर्षीया वृद्धाको बिहीबार विहान १२ः५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार उच्च रक्तचाप भएकी वृद्धामा २८ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बीपी प्रतिष्ठानमै धरान उपमहानगरपालिका–९ का दुई जना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको प्रयोगशालामा २५ असोजमा संक्रमण पुष्टि भएका ५८ वर्षीय पुरुषको बुधबार राति ११ः५५ मा मृत्यु भएको छ । उनी २८ असोजमा अस्पताल भर्ना भएका थिए ।

धरान ९ कै ४४ वर्षीया महिलाको समेत बुधबार अपरान्ह साढे ३ बजे मृत्यु भएको छ । धरान ९ का महिला र पुरुषमा दीर्घरोगको समस्या थिएन । महिलालाई २७ असोजमा कोरोना पोजेटिभ देखिएको थियो ।

यसैगरी तेह्रथुम दाङ्पा– १ का ४९ वर्षीय पुरुषको बुधबार बेलुका मृत्यु भएको छ । २६ गते कोरोना पोजेटिभ देखिएका पुरुषमा निमोनियाको समस्या थियो । २५ असोजमा इमरजेन्सीमा भर्ना भएका उनको बुधबार बेलुका सात बजे इमरजेन्सीमै मृत्यु भएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै विराटनगरको विराट नर्सिङ होममा एक महिला र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई पुरुषको मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया महिलाको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको हो । मुटु सम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार उनलाई विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई जना संक्रमित पुरुषको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–४ का ५० वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उता रुपन्देही र अर्घाखाँचीका दुई जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का ७३ वर्षीय पुरुषको आईसीयू अभावमा मृत्यु भएको छ । उनलाई असोज २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

तर अस्पतालमा आईसीयू अभाव भएपछि दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनमा यही असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी बुटवल उपमहानगरपालिका–७ की ७० वर्षीया महिलाको धागो कारखानामा सन्चालित कोरोना विशेष अस्थायी अस्पतालमा आज बिहान मृत्यु भएको छ । यही असोज २१ गते अस्पताल भर्ना भएकी उनको आज बिहान सवा ९ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनमा असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा ज्वरो, दम लगायतका समस्या थियो ।

यसै गरी ललितपुरको किस्ट अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । ललितपुर इमाडोलका ८५ वर्षीय पुरुषको बिहिबार बिहान ३ बजे मृत्यु भएको हो ।
किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनलाई यही असोज २० गते भर्ना गरिएको थियो । उपचारको क्रममा २१ गते पोजेटिभ रिपोर्ट आएको थियो । उनको छातीमा पानी जमेको समस्या थियो ।

सम्बन्धित खबर

Back to top button