जन सरोकार

निलकुमारीलाई परेको बज्रपात- अघिल्लो दिन श्रीमानको निधन भोलिपल्ट ग्यास सिलिण्डर बिस्फोट- घर क्षतिग्रस्त, ११ जना घाइते

बिस्फोटपछि क्षतिग्रस्त घर

काठमाडौँको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोक निवासी निलकुमारी क्षेत्रीलाई यस्तो बज्रपात पर्छ भन्ने कल्पना पनि थिएन होला । उहाँका श्रीमानको हिजो (बुधबार) मात्रै निधन भएको थियो र परिवार किरियामा बसेका बेलामा ग्यास सिलिण्डर बिस्फोट भएर ११ जना घाइते भए ।

चारतले घरको दोस्रो तलामा ग्यास चुहिएपछि विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनामा ठूलो भौतिक क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।



घाइतेमध्ये तीन जनाको मनमोहन अस्पताल ठमेल र तीन जनाको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विस्फोटपछि आगलागीसमेत भएको जनाइएको छ । दमकलको सहायतामा प्रहरीले आगो निभाएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार बिहान ११ः५० मा घटना भएको हो । विस्फोटबाट घरको भौतिक संरचना नै भत्किएको उहाँले जानकरी दिनुभयो । उक्त घटनाका कारण वरिपरीका घरमा समेत क्षति पुगेको जनाइएको छ ।

सम्बन्धित खबर

Back to top button