राजनीति

‘अर्ली इलेक्सन’को सम्भावना प्रवल !

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गर्दै तीन महिनामा बल्ल मन्त्रिमण्डलले पूूर्णता पाएको बताउनुभएको छ । उहाँले सरकारले गति लिनै नसकेको र पूर्णता लिन समेत तीन महिना लगाएको भन्दै ‘अर्ली इलेक्सनको सम्भावना रहेको समेत बताउनुभयो ।

दशैं, दीपावली, छठ र नेपाल सम्बत्को अवसरमा आज झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “तीन महिनामा बल्लबल्ल मन्त्रिमण्डलले पूर्णता पाएको छ, सरकार कसरी चलिरहेको छ भन्ने प्रष्टै छ । अरु केके भएको छ, त्यो चाहिँ देखिन बाँकी छ ।”

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएको एमाले अध्यक्ष ओलीले ‘अर्ली इलेक्सन’को सम्भावना समेत रहेको दावी गर्नुभयो । आफुले नेतृत्व गरेको सरकारले विकास निर्माणमा आशालाग्दो काम गरेको चर्चा गर्दै उहाँले प्रदेश र स्थानीय तहको सरकारलाई अब धेरै अवधि बाँकी नरहेका कारण तीव्रगतिमा विकासका कार्यलाई अघि बढाउन आग्रह गर्नुभयो ।

जनताको जीवनमा देखिने गरी परिवर्तन ल्याउन लोकतन्त्र स्थापना गरिएको जनाउँदै अध्यक्ष ओलीले लोकतन्त्रको माला जपेर लोकतन्त्रकै विरुद्ध गतिविधि गर्नेको कुप्रचार र भ्रम निस्तेज बनाउन कार्यकर्ता पङ्क्तिलाई आह्वान गर्नुभयो ।

उहाँले दशैं, तिहार, छठलगायतका चाडपर्वले समाजलाई एकता र सद्भावमा उन्नका लागि मालाको काम गरेको धारणा व्यक्त गर्नुभयो । उहाँले लोकतन्त्रलाई व्यवहार र जीवनमा उतार्न सद्बुद्धि आवोस् भनी शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।

विसं २०५० सालदेखि बडादशैंको महानवमीका दिन एमाले अध्यक्ष ओलीले गृहजिल्ला झापामा शुभकामना आदानप्रदान गर्दै आउनुभएको छ । गत वर्ष कोभिड–१९ को कारण कार्यक्रम रोकिएको थियो ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हिरा थापा, नेकपा एमालेका प्रदेश कमिटी सचिव विनोद ढकाल,सांसद् कोमल वलीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button