खेलफूटबल

मुख्य प्रशिक्षक अल्मुताइरी र फरवार्ड अञ्जनबिना फाइनलमा उत्रदै नेपाल

साफ च्याम्पियनसीपको १३ औं संस्करणमा आएर बल्ल फाइनलमा पुगेको नेपालले आज भारतबिरुद्ध हुने उपाधी प्रतिस्पर्धामा मुख्य प्रशिक्षकलाई डगआउटमा गुमाउने छ भने मुख्य खेलाडी अञ्जनलाई गुमाएको छ ।

दुई पहिलो कार्डका कारण फरवार्ड अञ्जन विष्टले खेल गुमाएका छन् भने दुई फरक खेलमा पहेंलो कार्ड पाएका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पनि ‘डगआउट’ मा हुने छैनन् । त्यसो त भारतका मुख्य प्रशिक्षक पनि हुने छैनन् ।

भारतका पनि मुख्य खेलाडी मैदानमा हुने छैनन् । यसपल्टको फाइनलको एउटा सबैभन्दा ठूलो विशेषता भनेको दुवै टिमका प्रशिक्षक ‘डगआउट’ मा हुने छैनन् । त्यसो भनेको दुवैले टेक्निकल एरियामा रहेर आफ्ना खेलाडीलाई निर्देशन दिन पाउने छैनन, एक प्रकारले दुवै दर्शक हुनेछन् ।

दुई पहेँलो कार्डका कारण अल्मुताइरी नेपालका लागि आफ्नो अन्तिम खेलमा यो अवसरबाट वञ्चित भएका हुन् । बंगलादेशविरुद्धको खेल पछि उनले फाइनल नेपालका लागि आफ्नो अन्तिम खेल हुने बताएका थिए ।

त्यसको एकदिनपछि उनलाई ‘डगआउट’ मा बस्न नपाउने पत्र दिइएको थियो । भारतीय प्रशिक्षक स्टिमेकले माल्दिभ्सविरुद्धको खेलमा सिधै रातो कार्ड पाएका थिए, त्यसैले उनी पनि ‘डगआउट’ मा हुने छैनन् ।

नेपालका लागि प्रतियोगितामा अहिलेसम्म सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीमध्ये एक रहेका अञ्जन विष्टले पनि फाइनल गुमाउने छन् । उनी पनि दुई पहेँलो कार्डको मारमा परेका हुन् ।

भारत लिग चरणको विजेताको रुपमा र नेपाल उपविजेताको रुपमा फाइनलमा पुगेका हुन् । भारतले समूह चरणमा दुई जित र दुई बराबरीको नतिजा सहित ८ अंक बटुलेको छ । नेपालले २ जित, एक बराबरी र एक हारको नतिजा सहित ७ अंक प्राप्त गरेको छ ।

सन् १९९३ मा भएको सार्क गोल्डकपलाई साफ च्याम्पियनसिपको पहिलो संस्करणका रूपमा गणना गर्ने हो भने नेपाल २८ वर्षपछि पहिलो पल्ट फाइनल खेल्दैछ । यसपल्टको फाइनल अगाडि नेपालले ४२ खेल खेलिसके । यसमा राउन्ड रोबिनका आधारमा चलेको अहिलेको प्रतियोगितामा चार खेल पनि पर्छन् ।

यी चार खेलमध्ये नेपालले सुरुआती दुई प्रतिस्पर्धामा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । त्यस लगतै नेपाल भारतसँग पराजित भएको थियो ।

निर्णायक खेलमा भने नेपालले बंगलादेशलाई बराबरीमा रोकेको थियो । साफमा सर्वाधिक सफल टोली भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ ।

माल्दिभ्सको स्थानीय समय अनुसार राति आठ बजे (नेपाली समय अनुसार राति ८ः४५) मा माल्दिभ्सको नेसनल स्टेडियममा हुने खेलमा भारतलाई हराएमा त्यो आफ्नो फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलता सावित हुनेछ । छ ।

सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालको प्रदर्शन कहिले पनि सेमिफाइनल भन्दा माथि हुन सकेको छैन् । अधिकांस समय यो प्रतियोगितामा नेपाल समूह चरणमै सीमित हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button