जन सरोकार

प्रहरी र स्थानीय युवाबीच झडप सात प्रहरी घाइते, छजना पक्राउ

रुकुम पश्चिम सदरमुकाम खंलगामा प्रहरी र स्थानीय युवाबीच झडप हुँदा ७ जना प्रहरी घाइते भएका छन् । घटनामा संलग्न छजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले शुक्रबार राति बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरासहित ७ जना प्रहरी घाइते भएको जानकारी दिनुभयो ।

घाइते प्रहरी सहायक निरीक्षक बोहरालाई राती नै थप उपचारको लागि नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौं लगिएको छ ।

त्यसै गरी प्रहरी हवल्दार कालीबहादुर बोहराको दाहिने हातको बुढी औलामा र ढाडमा चोट लागेको छ भने प्रहरी जवान लक्ष्मण गुरुङको टाउकोमा सामान्य चोट लागेको छ । अन्य चार जना प्रहरी कर्मचारीहरू पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राती पौने नौ बजे मुसिकोट नगरपालिका–१ स्थित बागबजार नजिकै छेउमा पार्किङ्ग गरी राखेको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बागबजारको संयुक्त टोली परिचालन गरिएको थियो ।

उक्त टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथी नै ढुंगामुढा र बोतल समेत प्रहार गरेपछि मुठभेडको अबस्था सिर्जना भएको थियो ।

घटनामा संलग्न ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुसीकोट नगरपालिका– ५, का २० वर्षीय नरेश पुनमगर, १ नम्बर वडाका १८ वर्षीय राजनप्रकाश गिरी, सोहि वडाका २० वर्षीय आकाश परियार पक्राउ परेका छन् ।

त्यस्तै रुकुम पूर्वको भुमे गाउँपालिका घर भई हाल मुसीकोट नगरपालिका ५ बस्ने २३ वर्षीय मर्कुश पुन मगर, मुसिकोट नगरपालिका–१०, का २४ वर्षीय खडानन्द केसी, मुसीकोट नगरपालिका–१, का २५ वर्षीय हरिबहादुर घर्ती पनि पक्राउ परेका छन् । घटनामा संलग्न धनिराम नेपाली र स्वयल विक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button