जन सरोकार

सुर्खेत र स्याङ्जामा सवारी दुर्घटना- दुईजनाको मृत्यु दर्जन बढी घाइते

सुर्खेतको वीरेन्द्रनगर र स्याङ्जाको गल्याङमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एक दर्जन बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

समाचार अनुसार दैलेखको बेस्तडाबाट वीरेन्द्रनगर आउँदैगरेको देउती नागरिक यातायत प्रालिको कर्णाली प्रदेश ०२–००१ ख ०१६६ नम्बरको मिनिबस वीरेन्द्रनगर १४ लादेमा शनिबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज दिउँसो साढे चार बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जनाएको छ । दुर्घटनामा परेर दैलेखको नारायण नगरपालिका ११ का १८ बर्षिय सुशील रावत र भगवतिमाई गाउँपालिका १ का ३४ बर्षिया शान्ता आचार्यको मृत्यु भएको कार्यालयका प्रवक्ता एवं डिएसी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

दुर्घटनामा एक जना गम्भीर घाइते र सात जना समान्य घाइते भएको उहाँले जानकारी दिनुभयो । घाइतेहरुको प्रदेश अस्पताल, माया नर्सिंङ होममा उपचार भइरहेको घर्तीले बताउनुभयो ।

त्यस्तै स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । त्यसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गुल्मीको हर्मिचौरबाट बुटवलका लागि छुटेकोे लु ३ च ४१९१ नम्बरको बलेरो जीप शनिवार सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका २ जिरो किलोमिटर नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक अर्जुन बिकले जानकारी दिनुभयो ।

उहाँकाअनुसार जीपमा छ जना सवार भएकोमा दुुईको अवस्था गम्भिर छ । तीन जना घाइते भएका छन् । एक जनाको अवस्था सामान्य रहेको विकले बताउनुभयो । घाईतेहरुको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जीप सडकदेखि १५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.