राजनीति

गगन र बालकृष्णले फिर्ता गरे दशैं भत्ता

मुलुक कोरोना महामारीमा परिरहेको र सर्वसाधारण जनताले राहत र उपचार नपाइरहेका बेला सरकारले सांसदहरुलाई दशैं भत्ता उपलब्ध गराएपछि यसको बिरोध भैरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र सांसद गगन थापाले सांसदका रूपमा पाएको दशैं भत्ता फिर्ता गर्नुभएको छ ।

दुबै सांसदले आइतबार एक विज्ञप्ति जारी गरेर खाँणले दसैं भत्ता फिर्ता गरेको जानकारी दिएका छन् । प्रमुख सचेतक खाँणले दशैं भत्ता बापतको रकम जनहितमा खर्च गर्नका लागि भन्दै फिर्ता गरेको उल्लेख गर्नुभएको छ ।

खाँणको विज्ञप्तिमा भनिएको छ हालको विषम परिस्थितिमा आम नेपालीले अभाव, पीडा र कठिनाई भोगिरहेको अवस्थामा जनप्रतिनिधिलाई भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक, जनउत्तरदायी र उचित नभएकोले मलाई प्राप्त भएको दशैं भत्ता बापतको रकम संसद सचिवालय मार्फत जनहितमा उपयोग गर्न सरकारलाई फिर्ता गर्ने व्यहोरा जानकारी गराउँदछु ।

आफूले दशैं भत्ता फिर्ता गरेको जनाउँदै खाँणले उक्त रकम सरकारको कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन संघीय संसद सचिवालयलाई आग्रह समेत गर्नुभएको छ ।

त्यस्तै पूर्व मन्त्री तथा कांग्रेसका सांसद थापाले पनि आफ्नो खातामा आएको दशैं भत्ता बापतको ६४ हजार ७० रुपैयाँ संघीय संसद सचिवालयमा फिर्ता गरेको जानकारी दिनुभएको छ । सांसदहरूको खातामा असोज महिनाको पारिश्रमिकसँगै दशैं खर्च पनि संसद सचिवालयले जम्मा गरिदिएको थियो ।

सम्बन्धित खबर

Back to top button