कारागारमा मृत्यु प्रकरण : गृहद्वारा छानबिन समिति गठन
सरकारले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका मोहम्मद हकीम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा भएको मृत्यु प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउन गृह मन्त्रालयद्वारा छानबिन समिति गठन गरिएको छ ।

घटनाको अनुसन्धान गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । कारागारमा र प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन गरी भविश्यमा त्यस्ता घटना हुन नदिन तथा कारागार व्यवस्थापनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव पेश गर्ने गरी उक्त समिति गठन गरिएको हो ।
उक्त छानबिन समितिले यही असोज २४ मा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका एक व्यक्ति, असोज २५ मा कैलालीको टिकापुर इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्ति र असोज २६ मा जिल्ला कारागार पर्वतमा रहेका एक बन्दीले आत्महत्या गरेको घटनाको सम्बन्धमा छानबिन गर्ने गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयमा मुस्लिम समुदायसँग सम्बन्धित सङ्घ संस्थाका प्रतिनिधिले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री खाँणले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो काम रहेको बताउनुभयो । उहाँले सामाजिक सद्भाव कायम गरी सत्यतथ्य बाहिर ल्याउन सरकार र आफू संवेदशील रहेको बताउनुभयो ।
सबै नागरिक आफ्नो धर्म संस्कृति अवलम्बन गर्न स्वतन्त्र रहेको उल्लेख गर्दै उहाँले सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा भएको त्यसमा आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
ज्ञापनपत्रमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित छानविन समितिलाई भङ्ग गरी उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा मानव अधिकारकर्मीसहितका विज्ञ टोली गठन गर्न माग गरिएको छ । मन्त्री खाँडले स्थानीयले विश्वास गर्ने गरी अहिलेको छानविन समितिका सदस्यलाई फेरबदल गर्ने विषयमा कुराकानी भएको जानकारी दिनुभयो ।
मन्त्रालयमा ज्ञापनपत्र बुझाउन इस्लामी सङ्घका अध्यक्ष खुर्शिद आलम, नेपाल मुस्लीम सङ्घका महासचिव रहमतुल्ला मियाँ, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीसहित ११ जना प्रतिनिधिको टोली सहभागी थियो ।
प्रतिक्रिया राख्नुहोस्