थलारामा पहिराले ७ घर पुरिए, २३ जना बेपत्ता
बझाङको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् ।

बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा हुनुहुन्छ । उहाँका माइला छोरा काले सार्की मात्र सकुसल हुनुहुन्छ ।
तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन् । गाउँ पहिराको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मा.वि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताउनुभयो । सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन ।
बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको स्थानीयले बताएका छन् । उनीहरुले पहिरामा परेर बेपत्ता भएको भन्ने खबर आएको तर लगातारको बर्षाले बाटो अवरुद्ध भएकाले सो घटनास्थलसम्म जान नसकिएको बताएका छन् ।
त्यस्तै सोमबारदेखि अविरल परेको बर्षाका कारण घर पुरिँदा धरानमा दुई बालबालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने निसान राईकी छोरी आठ बर्षीया निसु राई र चार बर्षीय छोरा निहान राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
मङ्गलबार दिउँसो १ः४५ बजे घरमाथिबाट पहिरो खस्दा निसान राईको टिनको छाना भएको एक तले घर पुरिएको छ । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगेको थियो । पुरिएको सो घरबाट प्रहरीले दिउसो साढे ३ बजे दुई बच्चाको शव निकालेको हो ।
प्रतिक्रिया राख्नुहोस्