विपन्न मुलुकहरुले खोप नपाउँदा कोरोना महामारी अर्को एकवर्ष लम्बिने चेतावनी
विश्वभर कोरोना भाइरस बिरुद्धको खोप अभियान चलिरहेको र अधिकांश मुलुकको जनजीवन सामान्य बन्दै गए पनि गरीब मुलुकहरुले चाहेजति खोप पाउन नसक्दा महामारी अर्को एक वर्षसम्म लम्बिने चेतावनी दिइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विपन्न मुलुकहरूले आफूलाई चाहिने कोभिड खोपहरू नपाइरहेकाले कोभिड महामारी सोचेभन्दा एक वर्ष बढी समय रहन सक्ने चेतावनी दिएको हो।
परोपकारी संस्थाहरूको एउटा गठबन्धन द पिपुल्स च्यारिटिजले कोभिड खोपसम्बन्धी सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार उत्पादक कम्पनी र सम्पन्न राष्ट्रहरूले प्रतिबद्धता जनाएका कोभिड खोपका सातमध्ये एउटा मात्रा मात्रै अति गरीब देशहरूमा पुग्न सकेको छ ।
अधिकांश कोभिड खोप उच्च अथवा मध्यम आय भएका देशहरूले पाएका छन् । जसमध्ये अफ्रिकामा न्यून मात्रामा खोप पुगेको छ ।
विश्वभरि दिइएका खोपमध्ये अफ्रिकाले २.६ प्रतिशत मात्रै पाएको छ ।
डब्ल्यूएचओस्थित वरिष्ठ अधिकारी डा. ब्रुस एल्वर्डले त्यसको अर्थ कोभिड सङ्कट सन् २०२२ को अन्त्यसम्मै मजाले लम्बिने देखिएको बताउनुभएको छ ।
अफ्रिकाको पाँच प्रतिशतभन्दा कम जनसङ्ख्याले कोभिड खोप पाएको छ जबकि अरू अधिकांश महादेशमा ४० प्रतिशतले खोप पाइसकेका छन् ।
खोपको आवश्यकता रहेका देशहरूलाई यूकेले एक करोड मात्राभन्दा बढी खोप उपलब्ध गराएको छ । यूके सरकारले कोभिड खोपको कुल १० करोड मात्रा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
डा. एल्वर्डले सम्पन्न देशहरूलाई खोपका लागि दिएको अर्डर छोड्न आग्रह गरे ताकि उत्पादक कम्पनीहरूले कम आय भएका मुलुकलाई प्राथमिकतामा राख्न सकून् ।
सम्पन्न देशहरूले ठूला औद्योगिक राष्ट्रहरूको समूह जी ७ लगायतका बैठकमा कोभिड खोप सहयोगबारे आफूहरूले जनाएको प्रतिबद्धताबारे समीक्षा गर्न आवश्यक रहेको औंल्याउँदै डा. एल्वर्डले भन्नुभयो म भन्न सक्छु कि तपाईँहरू सही बाटोमा हुनुहुन्न ।
हामीले साँच्चिकै गति बढाउन जरुरी छ नभए तपाईँहरूलाई थाहा छ कि यो महामारी जानुपर्ने समयभन्दा एक वर्ष ढिलो गरी जानेछ ।
अहिले कस्तो अवस्था छ भने केही देशहरूले आफ्नो जनसङ्ख्याको दुई प्रतिशतलाई पनि खोप दिन नसकेको अवस्थामा धनी देशहरूसँग मिति गुज्रन लागेका धेरै खोप छन् ।
कोभिड खोपको चर्को असमान वितरणको तथ्याङ्कले अझै विश्वको आधाभन्दा धेरै जनसङ्ख्याले एउटा मात्रा पनि लगाउन नपाएको अवस्था छ । यसले गर्दा पनि महामारी अर्को वर्षसम्म लम्बिने चेतावनी दिइएको हो ।
ह्युमन राइट्स वाचका अनुसार ७५ प्रतिशत कोभिड खोप १० देशमा पुगेका छन् । द इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको आँकडा अनुसार अहिलेसम्म बनेका कोभिड खोपमध्ये आधा जसो विश्वका १५ प्रतिशत मानिसहरूसम्म पुगेको छ।
प्रतिक्रिया राख्नुहोस्