प्रदेशबागमती

बागमतीमा ६ महिना पाण्डे, ६ महिना बानियाँ

संघीय सरकारमा गठबन्धन गरेका नेपाली कांग्रेस र नवगठित नेकपा एकीकृत समाजवादीबीच बागमती प्रदेशमा सरकारको नेतृत्व पालैपालो गर्ने सहमति भएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासकोमत लिंदैगर्दा एक वर्ष कार्यकाल रहेको प्रदेशसभामा विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको बैठकले प्रदेशसभाको कार्यकालको आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेले प्रदेशसभाको आधा कार्यकाल एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा समर्थन गर्ने र बाँकी आधा कार्यकाल कांग्रेसका ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री हुने सहमति भएको अनलाइनखबरलाई जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक बुद्धिमान माझीले प्रदेशसभाको कार्यकालको आधा–आधा समय एकीकृत समाजवादी पार्टी र नेपाली कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिने सहमति भएको जानकारी दिनुभयो।

उता नेकपा एकीकृत समाजवादीका नेताहरुले भने मुख्यमन्त्री पद आधा आधा कार्यकाल बाडफाँट गर्ने सहमतिबारे अनभिज्ञता प्रकट गरेका छन् । एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले आलोपालाको सहमति नभएको दावी गर्नुभएको छ ।

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभामा विचाराधीन छ । अब उक्त प्रस्तावमा कात्तिक १० गते मतदान हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button