जन सरोकार

युवाहरु मिलेर बनाइदिए अपाङ्गता भएका दासलाई घर

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपा बजारमा स्थानीय युवा मिलेर शारीरिक अपाङ्गता बौना दासका लागि बनाइएका शौचालयसहितको अपाङ्गमैत्री घर हस्तान्तरण गरिएको छ ।

तोपा बजार युथले बिहिबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले घरको साँचो अपाङ्गता भएका दासलाई प्रदान गर्नुभयो ।

घर हस्तान्तरणपछि कार्यक्रममा उहाँले स्थानीय युवाले दासको घर निर्माण गरेर मानवका दृष्टिकोणले प्रेरणदायी काम गरेको बताउनुभयो । यसरी समाजिक क्षेत्रमा गरेको काम सराहनीय भएको जनाउँदै समाजको हितमा यस्तो काम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सप्तरी राजनीतिक रुपमा अगाडि रहेको भए पनि शिक्षा, स्वास्थ्य र रोजगारमा कमजोर देखिएको बताउनुभयो । राज्यले गर्न नसकेको काम युवाले दासका लागि गरेको कार्यप्रति उहाँले खुसी व्यक्त गर्नुभयो ।

त्यस्तै प्रदेश नं २ का आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले युवाले सामाजिक सञ्जालमार्फत चन्दा सङ्कलन गरेर एक हिँडडुल गर्न नसकिने अपाङ्गता भएका दासका लागि शौचालयसहित अपाङ्गमैत्री घर बनाउनु उदाहरणीय काम भएको बताउनुभयो ।

शारीरिक अपाङ्गता भएका दासको घर तथा शौचालय निर्माण हस्तान्तरण कार्यक्रममा प्रदेश नं २ का अर्थमन्त्री शैलेन्द्र साह, राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादवलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

अपाङ्गता भएका दासको एउटा घर तथा शौचालय निर्माण समाजिक मानवीय काममा तोपा बजार युथका अध्यक्ष कौशल यादवलगायत सम्पूर्ण युवाको सकारात्मक सोच एवं पहलमा चन्दा सङ्कलन गरी निर्माण गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.