कोशीप्रदेश

मुख्यमन्त्री आचार्यद्वारा प्रदेशसभामा विश्वासको मतको प्रस्ताव पेश

प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि सभामा प्रस्ताव पेश गर्नुभयो । नेपालको संविधानको धारा १८८ को उपधारा(२) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम सदनमा सो प्रस्ताव पेश भएको हो ।

मुख्यमन्त्री आचार्यले प्रस्ताव पेश गर्नुअघि केही दिनअघि अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले अविरल वर्षाकै कारण प्रदेशमा ७० जनाले ज्यान गुमाएका, १८ जना घाइते र १२ जना बेपत्ता, ४० वटा घर बगाएको र एक हजार ८२५ घरमा आंशिक क्षति भएको जानकारी गराउनुभयो ।

उहाँले अविरल वर्षाकै कारण प्रदेशमा १० हेक्टर जमिनमा लगाइएको धानबाली पूर्णरुपमा क्षति भएको र लगभग ५० हजार हेक्टर जग्गाको धानबालीमा आंशिक क्षति भएको तथा अन्य क्षतिको विवरण आउन बाँकी रहेको जनाउँदै मृतकका प्रति परिवारलाई रु एक लाख, पूर्ण क्षति भएको घरलाई रु तीन लाख, आंशिक क्षति भएको परिवारलाई रु ३५ हजार र सामान्य क्षति भएका परिवारलाई रु १५ हजार राहतस्वरुप प्रदेश सरकारले प्रदान गर्ने जानकारी दिनुभयो ।

मुख्यमन्त्री आचार्यले धानबालीमा भएको क्षतिप्रति प्रदेश सरकारले कृषकको क्षतिमा २५ प्रतिशत राहत प्रदान गर्ने बताउनुभयो । प्रदेशसभाको अर्को बैठक कात्तिक ७ गते मध्याह्न १२ः३० बजे बस्ने र विश्वासको मत विभाजनबाट हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.