सरकारबिरुद्ध सडकमा उत्रिने माओवादी निर्णय, कार्तिक दश गते खबरदारीसभा
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले यही कार्तिक १० गते सरकारका गत कामको बिरोध गर्दै ध्यानाकर्षण गराउन काठमाडौंमा खबरदारीसभा गर्ने भएको छ ।

मंगलबार माओवादी वाग्मती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो कुराको जानकारी दिनुभएको हो ।
पार्टी मुख्य कार्यालय पेरिसडाँडामा आयोजित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराउँदै सभाको तयारीमा जुट्न सबै कमिटीहरुलाई निर्देशन पनि दिनुभयो ।
खबरदारी सभाको उद्देश्य माओवादी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्ने रहेको जनाइएको छ ।
यसै गरी विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण गरिने छ ।
यसै गरी नेपाल विद्युत प्राधिकरण लगायत सार्वजनिक संस्थाहरु, विश्वविद्यालयसहित शिक्षण संस्थाहरु र कर्मचारीतन्त्रमा गरिएको चरण राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न र बढ्दो बजारभाउ र कालाबजारी नियन्त्रणका लागि पहल गर्न खबरदारी सभा थालिएको माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रले सहकारीपीडित, मिटरब्याज र लघुवित्त पीडितहरुको समस्या समाधानका लागि आवाज बुलन्द गर्न, मुलुकलाई दुई दलीय तानाशाही प्रणालीमा लैजाने उद्देश्यसहित राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रको पर्दाफास गर्न, राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्न तथा सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिविरुद्ध खबरदारी गर्न थालेको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्