बाढीमा डुबेको विराटनगर विमानस्थल खुल्यो
गत सोमबारदेखि बाढीमा डुबेपछि बन्द रहेको विराटनगर विमानस्थलको हवाई सेवा आज बिहानबाट सुचारु भएको छ । विमानस्थल खुला भएसँगै यहाँबाट हुने नियमित उडानहरु खुला भएको विराटनगर नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ ।

कात्तिक महिनाको प्रारम्भसँगै परेको अविरल वर्षाका कारण विराटनगर विमानस्थलमा पानी जमेर डुबान भएको थियो । विमानस्थलहुँदै बग्ने बस्ता खोला, त्यसभन्दा पश्चिमको केशलीया नदी र पूर्वको सुनसरी मोरङ सिंचाइ योजनाको नहरबाट ओभरफ्लो भएको पानी विमानस्थलमा जमेको थियो ।
अधिक वर्षाले विमानस्थलको धावनमार्ग, ट्याक्सि वे र प्रवेशस्थल पुरै जलमग्न बनेको थियो । शुक्रबार साँझसम्म धावनमार्गमा जमेको लेदो हटाउने काम सकिएको र आजबाट नियमित उडान सुचारु गर्न आवश्यक सबै तयारी पुरा भएको नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख उत्सव खरेलले जानकारी दिनुभयो ।
प्रमुख खरेलका अनुसार आजबाट केही दिन बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मात्र उडानहरु हुनेछन् । धावनमार्गको लाइटिङ्ग सिस्टममा समस्या आएका कारण साँझ ५ बजेपछिको उडानहरु तत्काल गर्न नसकिने प्रमुख खरेलले जानकारी दिनुभयो ।
मौसमको अवस्था, धावनमार्ग र विमानस्थलको अवस्था अनुसार उडान समय बढ्न सक्ने बताइएको छ । हिउँदको समयमा विराटनगर विमानस्थलबाट साँझ ढिलोसम्म उडान हुने गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्