सभापति देउवाका कारण पार्टी अवैध भैसक्यो
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री तथापार्टी सभापति शेरबहादुर देउवाका कारण पार्टी अवैध भैसकेको बताउनुभएको छ । उहाँले पार्टीले वैधानिकता गुमाइसकेको र अहिले निर्वाचन आयोगको निगाहामा बाँचिरहेको पनि बताउनुभयो ।
शनिबार कैलालीमा आयोजित कार्यक्रममा पौडेलले पार्टी विधान र मुलुकको संविधानअनुसार पार्टीको विधानमा केन्द्रीय समितिको कार्यकाल ४ वर्ष तोकिएको र असाधारण अवस्थामा १ वर्ष थप गर्न पाइने अवस्था रहेको तर त्यो समय पनि पूरा भइसकेको बताउँदै अवैध रहेको टिप्पणी गर्नुभएको हो ।
संविधानले पनि राजनीतिक दलले ५ वर्ष ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको तर कांग्रेसले त्यो अवधि पनि गुजारेको र कांग्रेस वैधानिकताको सबै बाटो सकिएर अहिले निर्वाचन आयोगको निगाहामा बाँचेको स्पष्ट पार्नुभयो ।
आफूले शनिबार मात्र निर्वाचन आयोगका आयुक्तसँग कुराकानी गरेको भन्दै पौडेलले मंसिरको ९ देखि १३ सम्म निर्वाचन गरेर नयाँ नेतृत्व चयन नगरे कारबाही हुनसक्ने जानकारी पाएको पनि बताउनुभयो ।
पौडेलले मंसिर १३ गतेसम्म नयाँ पदाधिकारी नचुनिए पार्टी आगामी चुनावबाट वञ्चित हुन सक्ने चेतावनी दिंदै सभापति शेरबहादुर देउवाका कारण पार्टीमा यो स्थिति आएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्