जन सरोकार

बिरामीको घरघरमै उपचार खर्च पुर्याउँछन् युवा

बागलुङको जैमिनी नगरपालिका वडा नं २ दमेककी तुलसी सापकोटा अर्बुद रोग पीडित हुनुहुन्छ । लामो समयदेखि उपचार गराइरहनुभएका उहाँलाई आर्थिक अभाव भएको छ । उपचारमा लाग्ने खर्च जुटाउन कठिन भएपछि विभिन्न माध्यमबाट सहयोगको याचना गरिरहनुभएका सापकोटालाई ‘हाम्रो जैमिनी’ नामक संस्थाले आर्थिक सहयोग गरेको छ ।

संस्थाले विदेशमा रहेका आफ्ना सदस्यले संकलन गरेर पठाएको रकममध्ये रु २५ हजार सापकोटाको उपचारका लागि उपलब्ध गराएको हो । जैमिनी– ५ बिनामारेका श्रवण सुनुवार मिर्गौला रोग पीडित हुनुहुन्छ । उहाँका दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचार चलिरहेको छ । आर्थिकावस्था कमजोर भएका उहाँलाई पनि समूहले रु २५ हजार सहयोग गरेको छ ।

जैमिनी –७ जैदीकी कोपिला शर्मा पनि दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि उपचाररत हुनुहुन्छ । उहाँको समेत आर्थिक अवस्था कमजोर रहेकाले समूहले रु २५ हजार उपचार खर्च सहयोग गरेको समूहका अध्यक्ष छायादत्त चापागाईंले जानकारी दिनुभयो ।

समूहले विपत् व्यवस्थापन अभियान नै चलाएको छ । अप्ठेरामा परेकालाई आर्थिक र भौतिक दुवै सहयोग गर्ने ध्येयले अभियान सञ्चालन गरिएको चापागाईँले बताउनुभयो । जैमिनी ६ अर्जेवाका अशक्त लालबहादुर नेपाली र बिनामारेका टुहुरा बालकलाई खाद्यान्न तथा नगदसमेत समूहले उपलब्ध गराएको छ ।

‘जैमिनीका देशविदेशमा रहेका युवाको समूह बनाएर सामाजिक सेवाको अभियान चलाइरहेका छौंँ’ चापागाईंँले भन्नुभयो, ‘विदेशमा साथीहरु खाजा खर्च कटाएर जम्मा गर्नुहुन्छ, यहाँ हामी स्वयंसेवी भावले सहयोग गर्छौँ ।’

समूहले विदेश विभागसमेत बनाएको छ । एउटै समूहका सदस्य गाउँ र विदेशमा रहँदा सहयोगका लागि संकलित रकमको सदुपयोग हुने र आफ्नै उपस्थितिमा सहयोग गरेको अनुभूति हुने गरेको बेलायतमा रहनुभएका समूहका सदस्य रत्नबहादुर क्षत्रीले बताउनुभयो । बाढीपहिरोजस्ता विपत्तिमा परेका, प्राणघातक रोगग्रस्त र अतिविपन्नलाई समूहले सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.