फाइजर/बायोइन्टेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई पनि सिफारिस
अमेरिकी विज्ञले फाइजर/बायोइन्टेक कोरोना भाइरसबिरुद्धको खोप ५ देखि ११ वर्षका बालबालिकालाई लगाउनुपर्ने सिफारिस गरेको छ । यो खोप १२ वर्षमाथिकालाई यसअघि नै दिन थालिएको छ ।

सेप्टेम्बरमा खोप उत्पादक कम्पनीले आफ्नो परीक्षणबाट फाइजर/बायोइन्टेक खोप उक्त उमेर समूहका बालबालिका लागि सुरक्षित देखिएको जनाएको थियो ।
यसबीच अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडीए) का विज्ञले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोप लगाउनुपर्ने कदमको समर्थन गरेसँगै केही हप्ताभित्रै आतपकालीन अवस्थामा खोप लगाउन सकिने बाटो खुलेको जनाइएको छ । पछिल्लो निर्णयबाट २ करोड ८ लाख अमेरिकी बालबालिका लाभान्वित हुनेछन् ।
एफडीए र सीडीसी (रोग नियन्त्रण तथा रोकथाम केन्द्र)ले अनुमति दिएपछि उक्त निर्णय लागू हुनेछ । एफडीएका विज्ञले खोप लगाएपछि यसबाट उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमभन्दा फाइदा धेरै भएको पनि बताएका छन् ।
अनुमित पाउन साथ ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई वयस्कलाई दिइने खोपको एकतिहाई मात्रा दिइनेछ । हालसम्म अमेरिकामा कोरोना भाइरसबाट सात लाख ४० हजार मानिसको मृत्यु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्