बागमती

पहिलो महिला मुख्यमन्त्री शक्यद्वारा राजीनामा

नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्नुभएकी वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । बुधबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गर्नुभएको हो ।

प्रदेशसभामा सम्बोधन गर्दै उहाँले प्रदेशको समृद्धिका लागि प्रतिपक्षीको भूमिकामा रहेर पनि रचनात्मक काम गर्ने प्रतिबद्धता जनाउँदै छोटो समयमा उल्लेख्य काम गर्न सक्ने भए पनि आफूले काम गर्न नपाएको बताउनुभयो ।

प्रदेशसभा सचिवालयले प्रदेशसभाको बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरिसकेपछि मुख्यमन्त्री शाक्यले मन्त्री तथा सांसदहरुसँग मतविभाजनको प्रक्रियामा अगाडि बढ्ने वा राजीनामा दिएर मार्गप्रशस्त गर्ने विषयमा आन्तरिक छलफल गर्नुभएको थियो

पूर्व मुख्यमन्त्री डोरमणि पौडेलनिकट सांसदहरुले प्रक्रिया अगाडि बढ्नुपर्ने बताए पनि शाक्य निकट सांसदले राजीनामा दिन सुझाएका थिए । मुख्यमन्त्रीले राजीनामा दिएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी सभामुख सानुकुमार श्रेष्ठले दिनुभएको छ ।

प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३, प्रमुख प्रतिपक्षी नेकपा माओवादी २३ र अन्य प्रतिपक्षी नेपाली कांग्रेसका २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा)का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) का एक गरी १०९ सदस्य छन् ।

प्रदेशसभामा नयाँ सरकार बनाउन र टिकाउन ५५ मत भए पुग्छ । विपक्षी गठबन्धनसँग ५९ मत रहेको छ । नेकपा (एस) का संसदीय दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्ने पक्का भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button