राजनीति

किन सरिरहन्छ कांग्रेस महाधिवेशनको मिति ?

सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति पटकपटक सरिरहन्छ । महाधिवेशनको मिति सरिरहँदा पार्टी नै अवैध भैसकेको नेताहरुले बताइरहे पनि निर्धारित पछिल्लो मिति पुनः परिमार्जन भएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले महाधिवेशनको आगामी मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ । नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका पनि तय गरेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो ।

नयाँ तालिकाअनुसार हालसम्म वडा अधिवेशन प्रारम्भ हुन नसकेका १३ जिल्लाको अधिवेशन यही कात्तिक २७ गतेदेखि प्रारम्भ गर्ने तय गरिएको छ । यसैगरी जिल्ला अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन मङ्सिर १० गते तथा प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते गर्र्ने तय गरिएको उहाँले बताउनुभयो ।

कांग्रेसले यसअघि महाधिवेशन मिति मङ्सिर ९ देखि १३ गतेसम्म निर्धारण गरिएको थियो । पार्टीले गत भदौ १८ गतेदेखि वडा अधिवेशन प्रारम्भ गरेको भने हालसम्म १३ हिमाली जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ ।

यसबाहेक ४७ जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न भइसकेको र बाँकी चार जिल्लामा वडा अधिवेशन सम्पन्न भई केहीबाहेक पालिकास्तरको अधिवेशन सम्पन्न भएको संयोजक यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.