एन आर एन न्युजजन सरोकार

एनआरएनद्वारा उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न

गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलाइएको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ ।

एनआरएनले उक्त ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनः निर्माण गरी मंगलबार एक कार्यक्रमबीच सङ्घका अन्तरराष्ट्रिय समन्वय परिषद् अध्यक्ष महेशकुमार श्रेष्ठ र उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठले उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गर्नुभएको हो ।

७५ लाख ४४ हजार रुपैयाँको लागतमा सम्पन्न परियोजनामा सिभिल निर्माण, आधुनिक डिजाइन, भिडियो वाल, नेटवर्क प्रणाली र अपरेशनल उपकरणहरूको प्रतिस्थापन तथा मर्मत कार्य गरिएको छ । योसँगै काठमाडौं उपत्यकाका मुख्य सडकहरू सिसिटिभीको निगरानीमा रहने छन् ।

हस्तान्तरण समारोहमा एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठले यो परियोजना केवल संरचना हस्तान्तरण नभई प्रवासी नेपालीहरूको मातृभूमिप्रतिको जिम्मेवारी र सहकार्यको प्रतीकको रूपमा रहेको बताउनुभयो ।

उहाँले स्मार्ट, सुरक्षित र दिगो सहर निर्माणतर्फ यो कदमले नयाँ अध्याय सुरु गरेको र त्यसका लागि एनआरएनएले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उपत्यका प्रहरी प्रमुख कार्कीले सङ्घप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गैरआवासी नेपाली सङ्घले आन्दोलनका क्रममा जलाइएको ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनः निर्माण गरी आज हामीलाई हस्तान्तरण गरिएको छ । हामी खुसी छौँ । सबैलाई आवश्यक पर्ने संरचनामा क्षति गर्नु हुन्न भन्ने हामीले हाम्रा सन्ततिलाई सिकाउन जरुरी छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.