अझै २ सय २१ वटा बीओपी र १० हजार सुरक्षाकर्मी अत्यावश्यक
नेपालको सीमा सुरक्षामा अझै २ सय वटा बिओपी र १० हजार सुरक्षाकर्मी आवश्यक रहेको सशस्त्र प्रहरी बलले बताएको छ । यतिबेला नेपाल–भारत तथा नेपाल–चीन सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा आउट पोष्ट (बीओपी) कार्यालयको सङ्ख्या १ सय ७७ पुगेको छ ।
सरकारले बनाएको योजना अनुसार अझै २२१ वटा बीओपी अत्यावश्यक रहेको र त्यसका लागि १० हजार जनशक्ति अभाव रहेको सुरक्षा बताइएको छ ।
सीमा सुरक्षा पोष्ट ११ देखि १५ किलोमिटरको दूरीमा छन् । बीओपीको स्थापना देशको सीमा सुरक्षासँग जोडिएकाले प्रभावकारी परिचालन, उचित बन्दोबस्ती र स्थायी संरचनासँगै पर्याप्त जनशक्तिको आवश्यकता रहेको सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालले बताउनुभएको छ ।
प्रवक्ता अर्यालका अनुसार सीमा सुरक्षाका लागि अझै १० हजार जनशक्ति अपुग छ, छिमेकी देशको तुलनामा हाम्रो उपस्थिति निकै कमजोर छ । नेपालसँगको सीमा क्षेत्रमा भारतले ५३० वटा सीमा सुरक्षा कार्यालय सञ्चालनमा ल्याएको छ भने सुरक्षा पोष्टको सङ्ख्या भने थप्ने क्रम जारी छ ।
सीमा सुरक्षा पोष्टको स्थापनाले नेपालको सीमा अतिक्रमण रोक्न तथा अपराध गतिविधि नियन्त्रण गर्न र शान्तिसुरक्षा कायम राख्न सशस्त्र प्रहरीको उपस्थिति प्रभावकारी बन्दै गएको दाबी सुरक्षा अधिकारीको छ ।
सशस्त्र प्रहरी बलका अनुसार, १ सय ७७ मध्ये सातवटा नयाँ बीओपी चीन सीमा क्षेत्रसँग र बाँकी भारत सीमा नाका क्षेत्रमा रहेका छन् । प्रवक्ता अर्यालका अनुसार, बीओपीको सङ्ख्या पाँच सयसम्म पुर्याउने योजना छ । तीमध्ये कम्तीमा २२१ वटा स्थापना गरेमा सीमा क्षेत्रको धेरै समस्या समाधान हुन्छ ।
भारतसँग सीमा जोडिएको क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टको स्थापनाले दुई देशबीचको सीमा अतिक्रमण, अवैध तस्करी, लागू औषध तथा अन्य आपराधिक गतिविधिमा पूर्ण नियन्त्रण आउने दाबी उहाँको छ ।
हाल, प्रदेश–२ मा ५७, प्रदेश–१ मा ३६, लुम्बिनी प्रदेशमा ३५, सुदूरपश्चिम प्रदेशमा ३८, बागमती प्रदेशमा आठ, गण्डकी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक गरी एक सय ७७ सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट सञ्चालनमा छन् ।
प्रतिक्रिया राख्नुहोस्