जल/वातावरण

काभ्रेमा पत्रकारसहित दुईजना र होम आइसोलेशनमा बसेका छ जनाको मृत्यु

कोरोना भाइरस् सङ्क्रमणका कारण आज काभ्रेपलाञ्चोकमा एक पत्रकारसहित दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–५ निवासी ५१ वर्षिय पत्रकार विष्णुप्रसाद चौलागाई र बनेपा नगरपालिकाका ३९ वर्षिय एक पुरुष छन् ।

मृतक चौंलागाई काभ्रे पोष्ट साप्ताहिकको प्रधान सम्पादक हुनुहुन्थ्यो । उहाँको काठमाडौको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो । चौलागाईलाई गत असोज २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेशनमा बस्नुभएका चौलागाईलाई ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएको मृतकका भाई दिपकले बताउनुभयो । दुई दशकभन्दा बढी काभ्रेपलाञ्चोकमा पत्रकारितामा सक्रिय चौलागाईको पत्नी, एक छोरा र एक छोरी हुनुहुन्छ ।

पारिवारिक सोतका अनुसार ‘ब्रोन्काइटिस्’ रोगपीडित चौलागाईमा कोरोना सङ्क्रमण देखिए पनि हप्ता दिनअघि सङ्क्रमण रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना सङ्क्रमणका कारण ‘मल्टी अग्र्यान फेलिएर’ भई पत्रकार चौलागाईको निधन भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो । “चौलागाईको रिपोर्ट नेगेटिभबारे जानकारी छैन तर उहाँको निधन कोरोना सङ्क्रमणका कारण भएको हो” उहाँले भन्नुभयो ।

हालसम्म काभ्रेपलाञ्चोकमा १४ पुरुष र सात महिला गरी २१ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार विगत २४ घण्टामा २८ पुरुष र १६ महिला गरी ४४ नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् । आज पाँच सङ्क्रमित कोरोनामुक्त भई घर फर्किएका छन् ।

यसैबीच, काभ्रेपलाञ्चोकमा हालसम्म कुल सङ्क्रमितको सङ्ख्या एक हजार ६०६ पुगेको छ । यसमध्ये ६७ प्रतिशत अर्थात् एक हजार १०३ कोरोनामुक्त भैसकेको पोष्टले जनाएको छ । हाल कोरोना सक्रिय सङ्क्रमितमध्ये ४५ प्रतिशत अर्थात २१६ बनेपा नगरका हुन् । धुलिखेल नगरमा ९५, पनौतीमा ८९, पाँचखालमा १९, नमोबुद्धमा २७, मण्डनदेउपुरमा २२ तथा भुम्लु गाउँपालिकामा एक, रोशीमा छ, बेथानचोकमा चार, खानीखोलामा एक सङ्क्रमित रहेका छन् ।

यहाँको दुई स्थानीय तह चौंरीदेउराली र महाभारत गाउँपालिका कोरोनामुक्त छन् । हाल सक्रिय सङ्क्रमितमध्ये अस्पताल आइसोलेशनमा ९० र होम आइसोलेशनमा ३९२ उपचाररत रहेको पोष्टले जनाएको छ ।

यसै गरी भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर परीक्षण गर्दा आठ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएकामा आज बिहान ती महिलाको होम आइसोलेशनमै मृत्यु भएको हो ।
भक्तपुरमा अहिलेसम्म होम आइसोलेशनमा रहेका ६ कोरोना संक्रमितको मृत्यु भएको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताउनुभयो । त्यस्तै भक्तपुर अस्पतालमा कोरोना संक्रमित ७९ वर्षीय एक पुरुषको उपचारकै क्रममा आज मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिनुभयो । भक्तपुर नगरपालिका–१ चुनदेवी बस्ने पुरुषमा गत असोज २३ गते कोेरोना संक्रमण पुष्टि भएको थियो । दुवै शव नेपाली सेनाको टोलीले आज व्यवस्थापन गरेको छ । भक्तपुरमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ७१ जनाको मृत्यु भएको मिजारले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.