अब नाकामा आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउनुपर्ने
पछिल्लो समय नेपालमा अवैध तरिकाले अफगन नागरिकहरु भित्रिन थालेपछि सरकारले सीमा नाकामा कडाई गर्ने भएको छ । शुक्रबार कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिको बारेमा छलफल गर्दै सीमामा कडाई गर्ने निर्णय गरेको हो ।

बैठकले नाकामा सीसीटिभी जडान गर्ने, नाकामा आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउनुपर्ने व्यवस्था गर्ने, अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय गरेको छ ।
बैठकमा अफगानी नागरिक र अन्य देशका नागरिक कति छन् भन्नेबारेमा सुरक्षा निकायका प्रमुखहरूले कार्यवाहक प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।
बैठकमा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, गृह मन्त्रालयका निमित्त सचिव प्रदीप कोइराला, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी निर्मलकुमार थापा, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक प्रधुम्न कुमार कार्की सहभागी थिए।
अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई र काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल आमन्त्रितथिए । समसामयिक विषयमा थप छलफल गर्न छिट्टै अर्को बैठक आइतबार पुनः बोलाइएको छ ।
त्यसै गरी पछिल्लो समय कोभिड १९ को सङ्क्रमण बढ्न थालेकाले नाकामै स्वास्थ्य जाँच गर्ने पनि बैठकमा निणर्य भएको छ । त्यसका लागि आवश्यक उपकरण जुटाउने विषयमा पनि बैठकमा छलफल भएको छ ।
प्रतिक्रिया राख्नुहोस्