अर्थकृषि

साउदीबाट फर्केर टर्कीपालन : मासिक डेढ लाख आम्दानी

नेपालमा अवसर छैन भन्दै विदेशको मात्रै सपना देख्ने र कठीनभन्दा कठीन श्रम गर्न विदेश नै जानेहरुका लागि देशभित्रै मेहेनत गरे मनग्गे कमाई हुन्छ भन्ने उदाहरण धेरैले दिएका छन् ।

कमाउन शहर–बजार नै धाउनुपर्छ भन्न पनि हैन । आफ्नै घरखेतमा मेहेनत गरे कमाई गर्न सकिन्छ भन्ने गोरखाको पालुङटारमा टर्कीपालन गरेर एक युवाले मनग्य आम्दानी गरेर देखाइदिएका छन् ।

विगत १३ वर्ष साउदी अरबको अल्मराई कम्पनीमा काम गर्नुभएका गोरखा पालुङटार नगरपालिका–४ का ४० वर्षीय जीवमनि लुइँटेलले विसं २०७६ मा नेपाल फर्केसँगै टर्कीपालन सुरुआत गर्नुभएको छ ।

सो कम्पनीमा नौ हजार ५०० रियल अर्थात् नेपाली झण्डै रु तीन लाख मासिक कमाई गर्दै आउनुभएका उहाँले विसं २०७७ वैशाखदेखि पालुङटारस्थित आफ्नै घरमा आएर टर्कीपालन व्यवसाय सुरु गर्नुभएको हो ।

“मैले अल्मराई कम्पनीमा सँगै कार्यरत साथी मिठु सार्कीलाई भैरहवामा भेट्न जाँदा सार्कीको घरनजिक टर्कीपालन गरेको देखेँ, त्यहाँ टर्कीपालन गरेको देखेर मैले पनि केही गर्नुपर्छ भनेर त्यहाँको अनुभवलाई पालुङटारमा ल्याएर प्रयोग गरेँ”, उहाँले भन्नुभयो ।

सुरुआती चरणमा रु ७० लाख लगानी गरेर टर्कीपालन सुरु गरेका लुइँटेलले अहिले मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आउनुभएको छ । उहाँले एकपटकमा एक हजार टर्कीपालन गर्नसक्ने गरी खोर निर्माण गर्नुभएको छ । केही समय पहिले ९०० टर्कीपालन गर्नुभएका लुइँटेलसँग हाल ३०० टर्की रहेका छन् । लुइँटेलले पालन गर्नुभएको टर्की बिक्रीका लागि मुख्य बजार भने काठमाडौँ हो । यसका अलावा चितवन, पोखरा र स्थानीय पालुङटारमा पनि टर्कीको मासु खपत हुँदै आएको छ । “हप्तामा ५० किलो काठमाडौँ, २० किलो पोखरा र २५ किलो चितवनको नारायणगढ बजारमा टर्की बिक्री हुँदै आएको छ”, उहाँले भन्नुभयो ।

डेढ वर्षदेखि टर्कीपालन गर्दै आउनुभएका उहाँले एउटा टर्की १५ किलोसम्म बनाउनुभएको छ । उहाँले टर्कीको मासु एक किलोको रु एक हजारमा बिक्री वितरण गर्दै आएको बताउनुभयो । टर्कीपालनका सिलसिलामा लुइँटेलले तीन जनालाई रोजगारीसमेत प्रदान गर्नुभएको छ । टर्कीका लागि मुख्य आहार भनेको दाना नै हो ।

श्रीमती ज्ञानु लुइँटेललाई समेत शिक्षकको जागिरबाट अलग गरी व्यवसायमा लगाउनुभएका जीवमनिले हाल आफँै गाडी किनेर टर्कीको मासु काठमाडौँ, पोखरा, नारायणगढसम्म पुर्याउँदै आउनुभएको छ । “परिवारसँगै घरमा बसेर आफ्नै जन्मथलोमा पौरख गरेर यती कमाएकामा मलाई पूर्णरूपमा आत्मासन्तुष्टि मिलेको छ”, उहाँले भन्नुभयो ।

टर्कीपालनबाटै उहाँले दुई छोराछोरीलाई उच्च माध्यामिक तहसम्मको शिक्षा प्रदान गराउनुभएको छ । उहाँका छोराछोरीमध्ये हाल एक छोरी अमरज्योति जनता माध्यामिक विद्यालय लुइँटेलमा कक्षा १२ मा विज्ञान विषय लिएर अध्ययनरत हुनुहुन्छ भने अर्की छोरी गोरखा पोलिटेक्निकलमा प्राविधिक शिक्षा अध्ययनरत हुनुहुन्छ । आगामी दिनमा उहाँले आफ्नो व्यवसायलाई झन् राम्रो बनाउँदै लैजाने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.