राजनीति

बार उत्रियो प्रधान न्यायाधीशबिरुद्ध आन्दोलनमा

देशभरका कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएशनले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै चरणवद्ध आन्दोलन सुरु गरेको छ ।

आन्दोलनको पहिलो दिन आज कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा एक घण्टा धर्ना दिएका छन् । बारका महासचिव लीलामणि पौडेलका अनुसार तिहार बिदासम्म पनि राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा हुनेछन् ।

आन्दोलित कानुन व्यवसायीहरुले आफूहरुको आन्दोलन कुनै व्यक्तिविरुद्ध नभई न्यायपालिका शुद्धीकरणको लागि भएको र यसका लागि प्रधानन्यायाधीशको राजीनामा पहिलो शर्त भएको बताएका छन् ।

कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिनु अगाडि नेपाल बार एशोसिएसनको परिसरमा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनीहरुले शुद्धीकरणको यो अभियान संविधान संशोधनसम्म जानसक्ने बताए ।

बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायक्षेत्रमा बढेको विकृति, विसंगति र भ्रष्टाचार रोक्न आन्दोलन गरेको र यो आन्दोलन गलत प्रवृत्ति सच्याउने कोशिसका लागि भएको प्रष्टिकरण दिनुभयो ।

उहाँले न्यायपालिकाभित्र न्यायाधीश नियुक्तिदेखि लिएर विसंगति, विकृति, विचौलिया, भ्रष्टाचारको विरुद्धमा २०७६ साल वैशाख ६ गते र त्यो भन्दा अगाडि पनि निरन्तर खबरदारी गर्दै आएको र अहिले बाध्य भएर आन्दोलनमा उत्रिएको स्मरण गराउनुभयो ।

आगामी मंगलबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने निर्णय बारले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button