दल, गुट र जातमा विभाजितहरुबाट के आशा ?
भूमण्डलीकरणको यो समयमा विश्वको जुनसुकै कुनामा पुगेर आफ्नो व्यक्तित्व विकास गर्ने अवसर हरेक देशका नागरिकलाई छ । विश्वका धेरै मुलुकहरुको आर्थिक–सामाजिक विकासमा विदेशिएका नागरिकहरुको ठूलो योगदान छ । छिमेकी मुलुक भारतकै कुरा गर्ने हो भने ‘एनआरआई’ले त्यहाँ आर्थिक–प्राविधिक रुपमा ठूलो लगानी र योगदान दिएका छन् ।

नेपालमा पनि गैरआबासीय नेपालीहरुबाट अपेक्षा थियो र अझै पनि छ । तर विश्वका ८० भन्दा बढी मुलुकमा छरिएर रहेका एनआरएनहरु मुलुकको समृद्धिको नारा घन्काएर आफ्नो सामाजिक हैसियत र प्रभाव विस्तारमा लागिरहेका छन् ।
एनआरएनए स्वतन्त्र हुन्थ्यो भने अहिले यो संस्थाले नयाँ नेतृत्व पाइसक्थ्यो । तर, चर्को राजनीतिक चलखेलका कारण सरकारले अधिवेशन नै स्थगित गरिदियो । अधिवेशन स्थगन हुनुअघि नै पदाधिकारीका आकांक्षीहरुको भीड खडा भैसकेको थियो । विशेषतः दलीय आबद्धता अनि दलभित्रबाट पनि गुटगत आधारमा उम्मेदवारी दिने होडबाजीकाबीच प्रतिनिधि चयनमा भएको धाँधलीलाई आधार बनाएर परराष्ट्र मन्त्रालयले अधिवेशन रोकिदियो ।
एनआरएनएको वर्तमान नेतृत्वमा एमाले पक्षधरहरुको बाहुल्य छ । पुनः एमाले पक्षकै हातमा नेतृत्व पु¥याउन धाँधली गरेको भन्दै उजरी परेपछि परराष्ट्रले छानबिन समिति बनाएर निर्वाचन रोक्यो । यसको भित्री कारण भने एनआरएनएमा वर्तमान गठबन्धन पक्षधरलाई अघि ल्याउने चालवाजी मात्रै हो ।
देशभित्र त हरेक क्षेत्राा अस्वस्थ राजनीति थियो नै केही वर्षयता संचार क्षेत्रहुँदै अब गैरआवासीय नेपालीहरुको संगठनमा पनि राजनीतिको विकार घुसेर यो पवित्र संस्थाको उद्देश्य देश र देशबासीको भलाईमा केही गर्ने भन्दा पनि दल र दशविशेषका नेताको चाकरी गर्नेहरुको भीडमा परिणत भएको छ । हरेक दुई–दुई वर्षमा हुने महाधिवेशनका दृश्यहरुले यसलाई पुष्टि गर्दछ । अघिल्लो अधिवेशनमा त झण्डै कुटाकुट नै भएन ।
मुलुकको आर्थिक–सामाजिक विकासका लागि विदेशमा रहेका नेपालीहरुबाट संस्थागत रुपमा योगदान पु¥याउने उद्देश्यसहित स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) आज कुनै दलको भातृ संगठनमा परिणत गर्ने प्रयास भैरहेको छ थोरै लगानी धेरै चर्चा अनि राजनीतिकरणले थिलथिलो बनेर विश्वसनीयता गुमाउँदै गएको यो विश्वव्यापी सञ्जाल भएको संस्था अब भरोसा गर्न लायक नरहेको एनआरएन अभियन्ताहरुले नै बताउन थालेका छन् । संस्था अति राजनीतिकरणको शिकार भएको छ ।
मुलुकभित्र कुनै पनि निकाय राजनीतिकरणबाट मुक्त नभएका बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) राजनीतिकरणबाट मुक्त हुनुपर्छ भन्ने अपेक्षा भए पनि त्यस्तो पटक्कै देखिएको छैन । यसको विधानमा दल र गुटबन्दीलाई निषेध गरिएको छ । तर, नयाँ नेतृत्वका लागि प्रमुख राजनीतिक दलहरु खुलेरै मैदानमा उत्रन्छन् ।
दलीय आस्थाका आधारमा नेतृत्व हत्याउने होडबाजीले एनआरएनएले नेपाललाई के दिन्छ ? विदेशमा रहेर आफ्नो पेशा–व्यवसायमा अब्बल ठहरिएका, विदेशीलाई नै रोजगारी दिने हैसियत बनाएका नेपालीहरु दलीय कार्यकर्ता भएर विभाजित हुँदा उनीहरुले मुलुकका लागि स्वतन्त्र ढंगले काम गर्छन् भने कसरी पत्याउने ? जता गए पनि राजनीतिकरणले शिथिल र जीर्ण भएको नेपालीको मस्तिष्कमा स्वतन्त्र विचार र मुलुकका लागि केही गर्नुपर्छ भन्ने भावना नै छैन । त छ केवल आफू आबद्ध राजनीतिक दल अझ दलभित्र पनि आफ्नो निकटको नेताका लागि केही गर्नुपर्छ भन्ने गलत सोच हावी देखिएको छ ।
एनआरएनएभित्र मडारिएको राजनीतिक ध्रुवीकरणले यो संस्थालाई कहाँ पु¥याउने हो र यसको स्थापनाको उद्देश्य, गरिमा र विश्वसनीयता कति कायम रहने हो यो नै अहिलेको चासोको विषय हो । मुलुकलाई समृद्ध बनाउन अहं भूमिका निर्वाह गर्नसक्ने हैसियत बनाएकाहरु राजनीतिक दलका वफादार कार्यकर्ता बनेर चुनावी मैदानमा उत्रँदा मुलुकले पाउँछ के ?
विदेशमा रहेका नागरिकहरुको मातृभूमिमा गरेको लगानी कुनै पनि देशको आर्थिक विकासका लागि महत्वपूर्ण अंग बन्ने गरेको छ । भारत लगायतका देशहरुमा यस्तै देखिन्छ । विदेशमा रहेकाहरुको ज्ञान र सीप भारत सरकारले प्रचूर उपयोग गरिरहेको छ । यस्तै अपेक्षा नेपालको पनि हुनु अस्वाभाविक हैन । विदेशमा रहेका नेपाली (जन्मले नेपाली, कर्मले विदेशी बनेका)हरुबाट धेरै अपेक्षा गरिएको छ र उनीहरुबाट केही हदसम्म मातृभूमिका लागि लगानी गरिएको पनि नकार्न सकिन्न । तर नेपालमा त्यस्तो भएन । हरेक महाधिवेशनमा प्रतिबद्धता दोहोरिन्छ, काम हुन्न ।
नेपाली नागरिकता त्यागेर विदेशी बनेकाहरु दोहारो नागरिकता मात्र चाहन्छन् । उनीहरु मुलुकको समृद्धिका लागि जति गर्न सक्छन् र गर्नुपर्ने हो त्योपटक्कै छैन । केवल राजनीतिक दलका नेताहरुको निकट रहेर आफ्नो ‘सान’ बढेको र बढाएको भन्दै मख्ख छन् ।
प्रतिक्रिया राख्नुहोस्