राजनीति

गाउँपालिकाका केन्द्रभन्दा विकटलाई नगरपालिका घोषण गरेर कर मात्र उठाउने ?

नेपालमा घोषणाका आधारमा सहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या ६२.२ प्रतिशत छ । यो संख्या २ सय ९३ वटा नगरपालिकामा बसोबास गर्नेको संख्या हो । तर यी नगरबासीले पाउनुपर्ने कति सुविधा पाए भन्ने चासोको विषय छ ।

यसै सन्दर्भमा आज विश्व सहर दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा पुष्परमण वाग्लेले सहरी क्षेत्रमा विकास निर्माण गर्दा वातावरणमैत्री रुपमा गरिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले काठमाडौँ उपत्यकाबाट वार्षिक ५० करोडको फोहोर व्यवस्थापनमा खर्च हुने गरेकाले त्यसलाई मोहरमा परिणत गर्नतर्फ सोच अघि बढाउनुपर्ने बताउँदै ग्रिसको यथेन्स सहरको सडकका दायाँबायाँ फलफूल बिरुवा रोपेर आकर्षक रुपमा विकास गरेजस्तै नेपालका नगरपालिकामा पनि गरिनुपर्ने सुझाव थिदिनुभयो ।

आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले नगरपालिका घोषणाका लागि जनसङ्ख्या पु¥याउन थपिएका स्थानको विकासमा मन्त्रालय र सरोकार भएका निकायले ध्यान दिनुपर्ने बताउनुभयो । गाउँपालिकाका केन्द्रभन्दा विकट स्थानलाई पनि नगरपालिका घोषणा गरी करमात्र बढी लिने सहरको सेवासुविधा भने नदिने गरेकामा सम्बन्धित सबैको चासो हुनुपर्ने उहाँको भनाइ छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनाले सहरी क्षेत्र सुधारको विषय उठाउँदा पहिलो प्राथमिकताका रुपमा यहाँका सभ्यताका स्रोत नदी सम्पदालाई बिर्सन नहुनेमा जोड दिनुभयो । नदी किनारमा बनेका सडकमा विद्युतीय बस सञ्चालन गरे नदी क्षेत्रको वायु प्रदूषण गर्न सहयोग पुग्ने उहाँले सुनाउनुभयो ।

सहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रसाद शर्माले प्रकृतिलाई संरक्षण गरेर वातावरण मैत्री एवं हरियाली सहर निर्माण गर्न सहयोग पुगोस् भन्ने सोचका साथ कार्यक्रम अघि सारिएको बताउनुभयो । यसतर्फ सरोकार भएका सबै निकायको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्रालयका सहसचिव पद्मकुमार मैनालीले विश्व सहर दिवस मनाउन गठित समितिमा महानगरपालिका एवं नगरपालिका सङ्घको समेत प्रतिनिधित्व भए पनि कार्यक्रममा उपस्थित नहुनु दुःखद भएको बताउनुभयो । आगामी कार्यक्रममा महानगरपालिका र नगरपालिका सङ्घलाई पनि सहभागी गराउनेतर्फ सचेत हुनुपर्ने भनाइ उहाँले राख्नुभयो ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले परम्परागत सभ्यताका रुपमा रहेका पोखरी, तालको संरक्षण हुन नसक्नु र नदी किनारमा देवताको मन्दिर बनाउने गरेकामा अतिक्रमण गरिँदा प्राकृतिक प्रकोपले क्षति हुने गरेको बताउनुभयो । सहरको विकासका लागि सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्याकै आधारमा लगानी गरिनुपर्ने उहाँको भनाइ थियो ।

संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम ९युएन ह्याबिट्याट० नेपालका कार्यक्रम व्यवस्थापक प्रज्ञा प्रधानले विश्वभर सहरले ८० प्रतिशत कार्बन उत्सर्जन गर्ने भएकाले जलवायु परिवर्तनबाट बच्न हरियाली एवं स्वच्छ सहर विकास गरिनुपर्ने बताउनुभयो । विश्वभर सहरी क्षेत्रले ७५ प्रतिशत ऊर्जा उपभोग गर्ने गरेको छ ।

कार्यक्रममा विभागका उपमहानिर्देशक कुमार घिमिरे, काठमाडौँ उपत्यका विकास प्राधिकरणका राष्ट्रिय आयोजना प्रबन्धक भागवतभक्त खोकाली, विभागको नयाँ सहरी आयोजनाका निर्देशक रोशन श्रेष्ठ, नगर विकास कोषका कार्यकार निर्देशक कृष्णप्रसाद सापकोटा, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्रा डा सङ्गीता सिंहले वातावरण मैत्री सहर निर्माणका लागि गरिनुपर्ने विभिन्न सुधारका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

‘जलवायु उत्थानशीलताका लागि सहरको अनुकूलन’ भन्ने नाराका साथ यस वर्षको विश्व सहर दिवस मनाइएको हो । नेपालमा सन् २०१९ देखि विश्व सहर दिवस मनाउन थालिएको मन्त्रालयले जनाएको छ । सहरी क्षेत्रको समुचित विकासका लागि सहरी विकास विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । विधेयक मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भइरहेको समेत कार्यक्रममा जानकारी दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button