जापानविश्व समाचार

नवनिर्वाचित जापानी प्रधानमन्त्री र दक्षिण कोरियाली राष्ट्रपतिबीच भेटवार्ता

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र जापानका नयाँ प्रधानमन्त्री साने ताकाइची दुवैले बिहीबार पहिलो औपचारिक वार्ता गर्दै दुई देशबीच ‘अग्रगामी सम्बन्ध’ को महत्त्व रहेको बताएका छन् ।

सन् १९१० देखि सन् १९४५ मा कोरियाली प्रायद्वीपमा जापानको क्रूर कब्जासँग सम्बन्धित मुद्दालाई लिएर सम्बन्ध लामो समयदेखि तनाव रहँदै आएको छ । कतिपय विश्लेषकहरूले ताकाइचीको शासनकालमा सम्बन्ध थप बिग्रन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

“आजको द्रुत रूपमा परिवर्तन भइरहेको अन्तर्राष्ट्रिय र व्यापार वातावरणमा कोरिया र जापानले धेरै समानताहरू भएका छिमेकी देशहरूको रूपमा पहिलेभन्दा बढी अग्रगामी सहयोगलाई बलियो बनाउनुपर्छ,” लीले ताकाइचीसँग बैठकमा भन्नुभयो ।

प्रतिउत्तरमा जापानी नेताले भन्नुभयो, “हामी सीमाना साझा भएका छिमेकी भएको नाताले केही मुद्दाहरूमा असहमत हुनु स्वभाविक भएपनि यसलाई सल्टाएर अघि बढ्नुको विकल्प छैन।”

गत हप्ता पदभार ग्रहण गरेका ताकाइचीले भन्नुभयो, “हामीले सीमा क्षेत्रका नागरिकको रेखदेख र भूगोलको सुरक्षाका लागि सहमत भएका छौँ । हाम्रो भविष्य–उन्मुख नेतृत्व स्थिर तरीकाले हाम्रो सम्बन्ध विकास गर्न लागिपर्नुपर्छ।”

दक्षिण कोरियाको ग्योङजुमा भएको एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनमा चिनियाँ नेता सी जिनपिङ र बिहीबारसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी भएका थिए ।

पूर्व प्रधानमन्त्री शिन्जो आबेका अनुयायी ताकाइची प्रधानमन्त्री निर्वाचित हुनुअघि सियोलसँगको सम्बन्ध त्यति सहज थिएन। उहाँले नियमित रूपमा पवित्रस्थल यासुकुनीको भ्रमण गर्नुहुन्थ्यो । यो स्थल युद्धमा मारिएका जापानीहरूको सम्झनामा निर्माण गरिएको थियो ।

लामो समयदेखि सियोल र बेइजिङ दुवैसँग टोकियोको सम्बन्ध असहज रहेको बताउने गरिएको छ । नवनियुक्त ६४ वर्षीया प्रधानमन्त्री ताकाइचीले आफ्नो राष्ट्रवादी छविलाई नरम पारेको देखिन्छ, यासुकुनीमा हालैको उत्सवमा सहभागी हुनुभएको छैन र यसको सट्टा एक प्रस्ताव पठाउनुभएको छ ।

निर्वाचित भएपछि उहाँले भन्नुभयो, “उहाँ सम्बन्ध स्थिर गर्न चाहनुहुन्छ । आफुलाई ‘कोरियाली समुद्री शैवाल, कोरियाली सौन्दर्य प्रसाधन प्रयोग र कोरियाली नाटकहरू हेर्न मन पर्ने बताउनुभएको छ ।”

दक्षिण कोरियाका पूर्व कन्जरभेटिभ राष्ट्रपति युन सुक येओलले पनि जापानसँगको सम्बन्ध सुधार चाहेको बताउँदै आउनुभएको छ । उत्तर कोरियाप्रति युनभन्दा बढी नरम दृष्टिकोण अपनाउने लीले दक्षिण कोरिया र जापान ‘नजिकको छिमेकी’ रहेको बताउँदै आउनुभएको छ।

“अमेरिका र चीनबीच अल्झिएका जापान र दक्षिण कोरियासँग सहकार्य गर्नुको विकल्प छैन र दुवै नेतालाई यसबारे राम्रोसँग थाहा छ,” हान्कुक युनिभर्सिटी अफ फरेन स्टडिजका राजनीतिशास्त्रका प्राध्यापक ली जे–मूकले एएफपीलाई बताउनुभयो ।

उहाँले भन्नुभयो, “चिन्ताको विषय यो हो कि जब उनीहरूको अनुमोदन रेटिङ घट्छ, दुबै देशका नेताहरूले सियोल–टोकियो सम्बन्धलाई घरेलु राजनीतिक लाभको लागि प्रयोग गर्छन् । जापानी नेताले यासुकुनी ऐतिहासिक पवित्रस्थलको भ्रमण गर्नेजस्ता दक्षिणपन्थी सङ्केत दुई मुलुकको सम्बन्धका लागि तघारो हुनसक्छन् ।”

“युन सुक येओलले जस्तै लीले जापानको पक्ष लिन सक्दैनन् र गर्ने पनि छैनन्,”राजनीतिक विश्लेषक पार्क साङ–ब्युङले भन्नुभयो।

उहाँले भन्नुभयो, “सबैभन्दा राम्रो अवस्था के हो भने ताकाइचीले आबे शैलीको अति दक्षिणपन्थी दृष्टिकोणलाई पूर्ण रूपमा अँगाल्नुहुन्न वा अमेरिका–जापान–दक्षिण कोरिया सहयोगका बाबजुद हरेक त्रिपक्षीय मुद्दामा वाशिङ्टनको पक्षमा आँखा चिम्लेर लाग्नुहुन्न र यसका कारण स्थिति बिग्रँदैन ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.