शक्ति प्रदर्शनले पार्टी एकता संकटमा : नेकपा महासचिव पौडेल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र पूर्व एमाले र पूर्व माओवादीको अन्तरद्वन्द्व यति चर्को छ कि शीर्ष तहका नेतादेखि तल्लोस्तरसम्मै यसले अराजक रुप लिइरहेको छ । यही कारण पर्सामा एक स्थानीय नेताको हत्या भयो भने कर्णाली प्रदेशका मुख्यमन्त्रीबिरुद्ध पूर्व एमालेले अविश्वास प्रस्ताव ल्याए भने मुख्यमन्त्रीले पूर्व एमालेहरुलाई मन्त्रीबाट हटाउने तयार गरेको समाचार आएको छ ।
बालुवाटारमा दुई अध्यक्षबीच राम्रोसंग बोलचाल भएको छैन । पूर्व एमालेको माधव नेपाल गुट र अध्यक्ष प्रचण्ड गुट पुनः एक भएर प्रधानमन्त्री ओलीबिरुद्ध कदम चाल्न थालेका छन् । यस्तोमा नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टी फूटतर्फ उन्मुख भएको बताउनुभएको छ ।
केही दिन अगाडि दुवै अध्यक्षको सहमतिमा अर्थमन्त्री बन्नुभएका महासचिव पौडेलले आइतबार दिउँसो ट्वीटमार्फत भन्नुभएको छ, यतिबेला नेकपाको एकीकृत र अभिभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता तथा सदस्यहरु समक्ष अनुरोध गर्दछु ।
गत भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन, मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशको पार्टी विवाद र भारतीय गुप्तचर रअका प्रमुखको अचानक भएको नेपाल भ्रमणले ओली र दाहालबीच विवाद बढाइदिएको छ ।