राजनीति

परिवर्तनलाई उल्ट्याउन विभिन्न शक्ति लागे : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको बलमा भएको परिवर्तनलाई उल्ट्याउन विभिन्न शक्ति लागि परेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले कम्युनिष्ट पार्टीको सरकार र पार्टीभित्रकै व्यक्तिबाट परिवर्तनलाई प्रहार गर्ने काम भएको बताउनुभयो ।

“संविधानको सकारात्मक विषय तथा सङ्घीयतामाथि प्रहार गर्ने, संसद्का समितिले पठाएको विधेयक अगाडि नबढाउने लगायत काम गत सरकारले ग¥यो”, उहाँले भन्नुभयो, “विगतमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्थाप्रति नकारात्मक धारणा राख्नेहरू मुलुक परिवर्तनसँगै संविधान बनेपछि सुध्रिए होलान् भनेको, तर सुध्रिएनन् ।”

परिवर्तन देख्न नचाहने शक्ति सलबलाइरहेको भन्दै उहाँले परिवर्तनका लागि लडेका राजनीतिक दल र नेतृत्व ढुक्कसँग बस्न नहुने बताउनुभयो । राजनीतिक परिवर्तनमा कर्मचारीको संयन्त्रको ठूलो भूमिका रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले परिवर्तनको रक्षाका लागि चनाखो भएर बस्न आग्रह गर्नुभयो ।

अघिल्ला सरकारले रोकेका सबै विधेयक गठबन्धन सरकारले अगाडि बढाउने जानकारी दिँदै अध्यक्ष दाहालले सरकारले निजामती ऐन, प्रहरी समायोजन ऐन, कर्मचारी सरुवा, बढुवा, समायोजनालगायत ऐन छिटोभन्दा छिटो अगाडि बढाउने चाहेको बताउनुभयो । “समितिबाट पारित भएर आएका विधेयक तत्कालीन प्रधानमन्त्रीले रोकेर राखे, हामी ती सबैलाई अगाडि बढाउनेछौँ”, उहाँले भन्नुभयो ।

सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन कसरी गराउने भन्नेमा राजनीतिक दलबीच छलफल शुरु भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “राज्यलाई कम भार पार्ने, जनतालाई कम दुःख हुने गरी तीनै तहको निर्वाचन एकैचोटी गर्ने, प्रदेशअनुसार चरण चरणमा गर्ने तर काउन्टिङ एकै पटक गर्ने गर्यो भने धेरै षड्यन्त्र पनि हुन नपाउने आर्थिक बोझ पनि कम हुने राजनीतिक दललाई पनि सजिलो हुने हो कि भन्ने एउटा विचार आएको छ, पहिला स्थानीय तह र त्यसपछि सङ्घको निर्वाचन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।”

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कर्मचारी बौद्धिक वर्ग भएकाले जनताको पक्षमा निर्धक्क भएर काम गर्नुपर्ने बताउनुभयो । त्यस अवसरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको मुखपत्र ‘पराग’ पुस्तकको पाँचौँ विशेषाङ्क विमोचन गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.