संयुक्त अरब इमिरेट्समाा जारी आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत शृंखलाको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो ।
दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ७१ रन बनाएको थियो । जारी सिरिजमा नेपालले आज दोस्रो पटक अमेरिकासँग खलेको हो ।
नेपालको लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रन बनाए भने अलराउण्डर करण केसीले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै ३१ बलमा ४९ रन बनाए । त्यस्तै ओपनर कुशल भुर्तेलले ४७ रन जोड्दा भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन बनाए । अर्का ओपनर आसिफ शेख २ रनमा आउट भए भने आरिफ पनि २ रनमै आउट भए ।
अमेरिकाका लागि हर्मीत सिंहले १० ओभरमा ३३ रन दिएर ३ विकेट लिए भने सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले समान २-२ विकेट लिंदा जसदिप सिंह र शुभम रन्जानेको भागमा समान एक-एक विकेट रह्यो ।
नेपालले प्रस्तुत गरेको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाका लागि साइतेजा मुक्कामल्ला सर्वाधिक ७५ रन बनाए भने मिलिन्ड कुमारले ७० रन्को योगदान दिए ।
यस्तै शायन जहान्गिरले ३६ रन जोड्दा कप्तान मोनांक पटेलले २१, शुवम रन्जानेले १९, सन्जय कृष्णमुर्तीले अविजित १५ र हरमित सिंहले अविजित १३ रन बनाए । नेपालका लागि सन्दीप लामिछानले तीन विकेट लिए भने करण केसी, नन्दन यादव र गुल्शनकुमार झाको भागमा समान एक-एक विकेट रह्यो ।
जारी शृंखलामा नेपालले खेलेका तीनै खेलमा हार बेहोरेको छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो भने दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो । हारसँगै नेपाल १९ खेलमा १२ अंक जोड्दा सातौं स्थानमा छ भने अमेरिका २३ खेलबाट ३४ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।





प्रतिक्रिया राख्नुहोस्