बिचार

कोरोना भनेको कतै मनको बाघ त होईन?

-डा. आरजी
वनको बाघ भन्दा, मनको बाघ ज्यादा खतरनाक 
श्रीमानलाई राति हल्का ज्वरो आउछ र बेला बेलामा खोकी पनि लाग्छ। खोकीसंगै उसको मनमा अनेक कुराहरु खेल्न थाल्छ। कतै मलाई कोरोना लागेको त छैन ? भनेर। उ जति कोरोनाको बारेमा सोच्दछ, उसको खोकीको रफ्तार उति बढ्न थाल्छ। खोक्दैमा कहाँ कोरोना हुन्छ र? भनेर उ आफैलाई सान्त्वना पनि दिन पछी पर्दैन। तर उसको त्यो सान्त्वना धेरै समय टिक्न सक्दैन, जति जति मनमा कुरा खेल्छ, खोक्ने गति पनि झन् भन्दा झन् तिब्र हुदै आउछ।
बिहान हुने बित्तिकै अस्पताल गएर कोरोना चेक गर्ने निधो गर्छ र सुत्ने प्रयत्न गर्छ। तर जति प्रयत्न गरे पनि उसको त्यो सुत्ने प्रयास सफल हुदैन। उ आत्तिएर जुरुक्क उठ्छ र अस्पताल जाने सोच बनाउछ तर यो मध्य रातमा एक्लै अस्पताल जान आँट आउदैन। अहिले छोरासंगै भएको भए, कति सहारा हुन्थ्यो, भनेर समुद्रपारिको छोरालाई सम्झन्छ र अचानक मनमा डर उत्पन्न हुन्छ । कतै अब छोरासंग भेट पो नहुने हो कि? भनेर उ एक्लै बडबडाउन बडाउन थाल्छ। श्रीमानको बडबडाहटले गहिरो निद्रामा सुतिरहेको श्रीमतीको निद्रा खुल्छ। एकछिन त यहाँ के भई रहेको छ भन्ने अनुमान नै लगाउन सक्दिनिंन र बत्ति बाल्ने निधो गर्छिन। जब कोठा उज्यालो हुन्छ, उनको आखाले विश्वासै गर्न नसक्ने दृश्य आँखाको सामुन्ने प्रकट हुन्छ। हिजो राति खाना खाने बेलामा ठिक ठाक भएको श्रीमान पसिनाले निथ्रुक्क भिजेर मानौ कुनै अर्कै अपरिचित व्यक्ति जस्तै बडबड बडबड गरि कामिरहेको छ। एकछिन त उनले आफ्नो आखा अगाडीको दृश्य पत्याउनै सक्दैन। पहिला उनी कतै मैले सपना देखि रहेको त छैन? भनेर आफैलाई प्रश्न गर्छिन।
केहिक्षण पश्चात आफ्नो आँखा अगाडिको दृश्य वास्तविक भएको थाह भए पछी, सबैभन्दा पहिला श्रीमानलाई थपथपाई होस्मा ल्याउने कोशिश गर्छिन र अंगालोमा बाधेर वास्तविकता बुझ्छिन। त्यसपछि छिमेकीको ट्याक्सी ड्राइभर भाईलाई फोन गरेर तुरुन्तै अस्पताल लिएर जान्छ। अस्पताल पुग्नु नपाउदै त्यहाँ उभिरहेको पालेले थरथराई रहेको श्रीमानलाई पुलुक्क हेर्छ र कोरोना वार्ड तिर भने झैँ गरि दाँया हातले ईशारा गर्छ। त्यो पालेको क्रियाकलाप देखेर श्रीमती छक्क पार्छिन र डाक्टर कहाँ हुनुहुन्छ भनेर सोध्नको लागि पाले उभिएको ठाउँ तिर यसो पाईला के सारेको हुन्छ, आफुतिर लम्किरहेको श्रीमती देखेर पाले पुनः कोरोना वार्ड तिर ईशारा गर्दै त्यहाँबाट कुलेलाम ठोक्छ। श्रीमतीसंग कुनै बिकल्प नभएकोले उनि र ट्याक्सी ड्राइभर श्रीमानलाई कोरोना वार्ड तिर लिएर जान्छिन। कोरोना वार्ड पुग्ने बित्तिकै त्यहाँको कर्मचारीले बिना कुनै प्रश्न पीसीआर चेक गर्न तम्तयार हुन्छ। श्रीमतीले पीसीआर चेक गर्न भन्दा अगाडी एक पटक डाक्टर साबसंग भेटगराई दिन अनुरोध गर्दछिन। कोरोना वार्डको कर्मचारीले श्रीमानलाई पुलुक्क हेर्छ र ९९.९९% कोरोना हुन सक्ने दावी गर्छ र श्रीमान मात्रै होइन तिनै जनालाई पीसीआर चेक गर्नु अनिवार्य भएको कुरा बताउछ। ट्याक्सी ड्राइभर आफु स्वस्थ भएकोले पीसीआर चेक कदाचित न गर्ने भनि अडान कस्छ। यदि तिनै जनाको पीसीआर चेक नगर्ने भए, श्रीमानको मात्रै पीसीआर चेक नगरीदिने कुरा कोरोना वार्डको कर्मचारीले बताउछ।

श्रीमती बडो आफतमा पर्छिन् र ट्याक्सी ड्राइभरलाई पीसीआर चेक गर्न अनुरोध गर्छिन। पहिला त उ अलिक अनकन गर्छ तर श्रीमानको बिग्रदो हालत देखेर पीसीआर चेक गर्न तयार हुन्छ। पीसीआर चेकको नतिजा नेगेटिभ होस् भनेर श्रीमती मनमनै भगवान संग प्रार्थना गर्छिन। ज्वरो, खोकी हुदैमा कोरोना हुदैन, फेरी कोरोना हुदैमा मरि हाल्छ भन्ने हुदैन भन्दै श्रीमानलाई हौसला दिदै, तिहारमा विदेशबाट छोरो आयो भने सबै जना कतै घुम्न जाने र छोराको लागि बुहारी हेर्न जाने जस्ता अनेक कुरा गरेर श्रीमानको मन कोरोनाको खौफबाट दुर लैजाने प्रयत्न गर्छिन। गफ गर्ने क्रममा श्रीमानको अनुहार हसिलो भएर आउछ। शरीरपनि काम्न कम हुदै आउछ। त्यहि दौरानमा तीनैजनाको कोरोनाको नतिजा आउछ। कोरोना वार्डको कर्मचारी मानौ कुनै युद्ध जितेर आए जस्तै फुर्ति लाउदै हामीले जे सोचेको थियो नतिजा त्यहि भयो भन्दै प्रफुल्ल मुद्रामा श्रीमानको नतिजा पोजिटिभ र बाकी दुईजना नेगेटिभ भएको कुरा बताउछ। त्यो सुन्ने बित्तिकै श्रीमानको शरीरबाट पसिनाको धारा बग्न सुरु हुन्छ। लगत्तै, स्वास प्रश्वासको गति तिब्र हुन थाल्छ। हेर्दा हेर्दै श्रीमानको स्वास्थ्य अपत्यारिलो पारामा झन् भन्दा झन् खराब हुदै जान्छ। अन्तमा मुखबाट सेतो फिज निकाल्छ र तनक्क तन्केर ठुलो आवाज गरेर भुईमा बजारिन्छ। श्रीमानको त्यस्तो अवस्था देखेर श्रीमती निकै आत्तिन्छ र जसरि हुन्छ एक पटक डाक्टर साब बोलाईदिन कोरोना वार्डको कर्मचारीलाई अनुरोध गर्छिन। सुरुमा त डाक्टर आउन मान्दैन। आफुलाई कोरोना सर्छ भन्ने डरले मारिसकेको मान्छेलाई चेक गरेर बिउझिने कुरा आउदैन, जति सक्दो चाडो लास लिएर जादा राम्रो हुन्छ भनेर पन्छिन खोज्छ। कोरोना वार्डको कर्मचारी र डाक्टरको अमानवीय क्रियाकलाप देखेर ट्याक्सी ड्राइभर डाक्टर चाडो नआए म एक एक लाई ठिक गर्छु भन्दै जंगीन्छ। ट्याक्सी ड्राइभरको अकल्पनीय रुप देखेर कोरोना वार्डको कर्मचारी डरले थर थर काप्छ र डराई डराई डाक्टरलाई फोन गरि, त्यंहाको घटनाको जानकारी बिस्तृत रुपमा बर्णन गरि, जसरिपनि कोरोना वार्डमा आउनको लागि अनुरोध गर्दछ।
एकछिनपछि डाक्टर आउछ र श्रीमानको मृत्यु भएको घोषणा गरेर तुरुन्त त्यहाँबाट बिलिन हुन्छ। केहि बेर अघिसम्म श्रीमानलाई विभिन्न सान्त्वना दिदै बल प्रदान गर्ने अहिले आफुलाई सम्हाल्नै नसक्ने गरि डाँको छाडेर रुन थाल्छिन। यो दृश्य देखेर ट्याक्सी ड्राइभर के गरौ कसो गरौ भनेर अकमक्क पर्छ। किनभने उसले जिन्दगीमा यस्तो घडी कहिले बेहोरेको हुदैन। उसमा पैसाको कमि भएतापनि मानवताको कमि भने पटक्कै हुदैन। उसले रोईरहेको श्रीमतीलाई अचानक दिदी भनेर सम्बोधन गर्छ। दिदी अब जे हुने भई गो, अब रोएर केहि फाईदा छैन। अब दाईलाई लिएर घर जाउँ भनेर रुन्चे स्वरमा भन्छ। दिदी भनेर संबोधन गरेकोले उनीलाई पनि अब म एक्लो छैन भन्ने भान हुन्छ क्यारे, हो भाई अब जे हुने भई हाल्यो, जति सक्दो चाडो यो नर्कबाट निस्कौ भनेर श्रीमतीले आशु पुछ्दै भन्छ। त्यसपछि, ट्याक्सी ड्राइभरले कोरोना वार्डको कर्मचारीलाई लाश ट्याक्सीसम्म बोक्न सहयोगको लागि अनुरोध गर्छ तर कोरोनाले मृत्यु भएको शरीर छुन नहुने भन्दै, ट्याक्सी ड्राइभरको अनुरोधलाई अस्वीकार गर्छ। ट्याक्सी ड्राइभरले तिमिहरुमा मान्छे होइन, शैतान हो भन्दै आफु एक्लैले ट्याक्सीसम्म लाश बोकेर लिएर जान्छ। तीनजना घर फर्केको एकछिनपछि कोरोना वार्डको एकजना कर्मचारी अनुहार रातो पर्दै लौ बर्बादै भएछ भन्दै अर्को कर्मचारीलाई कोरोनाको नतिजा गलत भएको कुरा बताउछ। वास्तवमा भएको के रहेछ भने कोरोना नतिजा पोजिटिभ भएको व्यक्ति श्रीमान नभएर ट्याक्सी ड्राइभर पो रहेछ।



सम्बन्धित खबर

Back to top button