जन सरोकार

यमपञ्चकको पहिलो दिन आज कागतिहार, मिथिलामा धनतेरस मनाइँदै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ ।मङ्गलबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।

बुधबार बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा एवं मीठा खाने कुरा खान दिने दिन पनि बुधबार नै परेको हो । “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो”, उहाँले भन्नुभयो ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण काग र कुकुर तिहार बुधबार एकै दिन परेको समितिले जनाएको छ । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ ।

यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक १८ गते बिहीबार बिहान नरक स्नानसहित लक्ष्मी पूजा गर्नुपर्छ । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक १९ गते शुक्रबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको उहाँले सुनाउनुभयो । यसै दिनदेखि नेपाल संवत् ११४२ शुरु हुन्छ ।

यसै गरी कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै छ । मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाउन लागिएको हो ।

कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनलाई मिथिलामा ‘धनतेरस’ भनिन्छ । यस दिन नयाँ धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने मैथिल परम्परा छ । आज बिहान ९ बजेअघि नै त्रयोदशी तिथि प्रारम्भ हुने हुँदा नक्षत्रादिको भोगले बिहान ११ बजेपछि धातुका नयाँ सामान किन्न शुभ हुने मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता बर्दिबास नगरपालिका–२ का महेशकुमार झा बताउनुहुन्छ ।

घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ । मिथिलामा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा तिथि, बार, नक्षत्र एवं चाडपर्वको छिनोफानो गरिन्छ । दुवै पञ्चाङ्गमा आज नै धनतेरस उल्लेख रहेको झाले बताउनुभयो । कात्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने धन्वन्तरी जयन्ती पनि आजै परेको छ ।

दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका ज्ञाता बताउँछन् ।

मिथिला क्षेत्रमा ‘दिवाली’को पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत सुरु गरिने परम्परा छ । सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ ।

पर्व विशेषका कारण आज तामा, पित्तल र काँशका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड रहन्छ । मिथिलामा आज किनिएको सामान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button