बिचार

दुनियाँका दृष्टिमा ज्ञानेन्द्र र चोलेन्द्र

पृष्ठभूमि

समाजको विकास शुरु भएदेखि नै स्थानीय ठूलाठालुहरुले कायम गरेका ससाना राज्यका भुरे टाकुरे सामन्ती राजाहरुको राज्यमाथि विजय हाँसिल गरेर पृथ्वीनारायण शाहले एकीकृत नेपाल राष्ट्रको निर्माण गरी शाहवंशीय शासनको परम्परा बसाएका थिए । तर, उनले निर्माण गरेको नेपाल राज्य संचालन गर्ने शाहवंशीय उत्तराधिकारी राजा असल शासक बन्नेभन्दा सन्काहा, कामवासना लिप्त बढी देखिए । त्यही कमी कमजोरीको मौका छोपी कहिले को कहिले अर्कै वंशीहरुले राजाका सहायकको रुपमा आ–आफ्नै सोच र हिसावबाट शासन गरे । पृथ्वी नारायणको दूरदृष्टि र भावना बुझेर, आफ्ना भाइभतिजाहरुलाई सघाउने भावना लिएर राज्य सहायक बनेका उनका कान्छा छोरा बहादुर शाहलाई उनकै भतिजा रणबहादुरदेखि दरबारभित्र आफ्नो हाली मुहाली कायम गरी पकड जमाएका तिनै विभिन्न षड्यन्त्रकारीहरुसम्मले “दरवारभित्रका पोथी पात्र”हरु लगाएर पतन गराए ।

षड्यन्त्र र हत्याको उपकम

राजकाजको जिम्मेदार बन्नुपर्ने राज्यका मुख्य व्यक्तिकै कमजोरीका कारण कहिले पाण्डे, कहिले थापाहरुले दरवारभित्र कब्जा जमाउन पुगे ।पछि उनीहरुले रानीहरुका माध्यमबाट एकले अर्को वंश (पाण्डे र थापा)लाई दरवारबाट निकाल्ने जालझेलका खेल खेल्ने क्रम शुरु गरे । जसको परिणाम नेपाल राष्ट्रको स्थापना गरे पनि सुदृढ, सवल राज्य नबनीसकेको मौका छोपी कहिले उत्तर र कहिले दक्षिणतिरबाट नेपालमाथि विभिन्न खाले समस्या थोपर्नेदेखि भू–खण्ड नै कब्जा गर्नेसम्मका दुष्प्रयासहरु समेत भए । परिणामत दरवारभित्र बलियो प्रभाव बनाइबसेका थापाहरुको जगजगी र चकचकी बढ्दै गएको देख्न, सहन र सहज स्वीकार्न नसकेपछि, भीमसेन थापा लगायत अमरसिंह, माथवर सिंह, लगायत कैयन देशभक्तहरुको विभिन्न कालखण्डमा षड्यन्त्रपूर्वक हत्या गरियो ।

जसले अन्तिम “थापा” (गगन सिंह)को हत्या गरे, उसैलाई हत्याराको पत्तो लगाउने मौखिक अख्तियारी राजा राजेन्द्रकी कान्छी रानीबाट दिइयो । त्यही वहानामा तत्कालीन राजदरवारचोक (हनुमान ढोकाभित्रको कोत)मा मध्यरातमा वहालवाला प्रधानमन्त्री फत्तेजङ लगायत सयौँ उच्च अधिकारीहरुलाई निःशस्त्र हाजीर गराई, उपस्थित सबैलाई “रानीको परमप्रिय गगन सिंहको हत्याको आरोप लगाउँदै निर्यमतापूर्वक अन्धाधुन्ध हत्या गरियो । यदि नेपालका इतिहासकारले लेखेको गलत होइन भने त्यस कोतमा तत्कालीन प्रधानमन्त्री सहितका झण्डै ४०० (चार सय) भाइ भारदाहरु मारिएका थिए, जो जंगबहादुरका नजरमा उनका वैरी थिए । प्रधानमन्त्री सहित सयौँ उच्चतम सरकारी अधिकारीदेखि राजाकै नातेदार, भाइभारदारको हत्या गरी त्यसैबखत रानीबाट प्रधानमन्त्रीमा नियुक्त गरिएको “पञ्जा–पत्र” लिएका थिए जंगबहादुरले ।

त्यति मात्र होइन । केही समयपछि नै “भण्डारखाल पर्व” भनिने अर्को हत्याकाण्ड रची, कोतमा काटिन, मारिन बचेका त्यस भण्डारखालमा मारिए । त्यसरी जंगबहादुरले आफ्नंै मामा गगनसिंहबाट शुरु गरी झण्डै हजारौँको क्रूरतम र दानवी तरिकाले “जनसंहारको वलमा स्थापित “राणा” पगरीधारी कुँवर अधिवंशवादी शासन परम्पराको जग राखेका थिए । त्यहींबाट “शाह राणाको” द्वैधशासन शुरु भएको थियो, जुन १०४ वर्ष कायम रह्यो ।

“जसले जस्तो पाप गर्छ उसले त्यस्तै फल भोग्छ (जैसी करनी वैसी भरनी)” भनिन्छ । झण्डै हजारौँ निःशस्त्र र निरपराधको हत्या गरेर हत्याएको आफ्नो “अधिवंशवादी शासन परम्परा” उनको मृत्युपछि प्रधानमन्त्री बनेका रणोद्वीप र जंगबहादुरकै छोराहरु जगतजङ्ग, एवं जीतजङ्गहरुको हत्या गरी उनकै सहोर भाइ धीरशम्शेरका १७ भाइ छोराहरुले आफ्नै जहानिया शासनको शुरुआत गरे ।

(यहाँ यति लामो भूमिकाको अर्थ र सन्दर्भ के ? पक्कै प्रश्न उठ्न सक्छ । तर त्यसको एक दुई शब्द, वाक्यमा सायद उत्तर दिन र पाउन गाह्रो पर्ला । त्यसको लागि धैर्यतापूर्वक पूरा लेख पढ्नै पर्ने हुन्छ )

नियति र संयोग

“प्रकृति र नियति” न व्यक्तिका अधीनका कुरा हुन्, न शक्ति सामथ्र्यको परिसीमाभित्रका विषय । नितान्त संयोग जनित विषय रहेछन् । त्यही नियति र संयोगको चर्चा गर्दा के कुराको हेक्का राख्नैपर्ने देखिन्छ भने “नियति” वा “संयोगले” जुराइदिएको कुराको महत्व बोधगर्न नसके त्यसरी नियति र संयोगले जुटाइदिएको अमूल्य र कल्पनाको परिसीमाभन्दा परतिरको अवसर, वस्तु जे पनि स्वर्णिम सपनामा देखे, पाएको, भोगेको, पद, वस्तु, भोलिपल्ट वा निद्रा खुल्ने वित्तिकै हराए–गुमाए जस्तै हुने–लाग्ने छ । जुन कुरा तत्काल निदाएर लिन–पाउन खोज्दा पुनः देख्न, भोग्न असंभव नै रहेछ । वरु त्यस्तो नियति र संयोगबाट प्राप्त वस्तु अवसर जेहोस्को सदुपयोग गर्न नसके त्यसैले त्यस्तो व्यक्तिलाई उल्टै असन्तुलित, डिप्रेस्ड सधै केही हराए, गुमाए र डराए जस्तो बनाउने मनोविज्ञान वेत्ताहरुको ठम्याई रहेछ ।

हो, संयोगले माथि लामो भूमिकामा उल्लेख गरिए झैँ नेपालमा राज्य शासन सत्ता र शक्ति प्रायः हत्या, हिंसा, दमन, उत्पीडन, षड्यन्त्रबिना पनि प्राप्त हुन सक्छ भन्नेमा धेरैले विश्वास नगर्लान् । तर सधैँ षड्यन्त्र, संघर्ष, हत्या, हिंसाबाट मात्रै व्यक्तिले आफ्नो शक्ति सामथ्र्यको पहुँच वाहिरको र उस्ले परिकल्पना नै गर्न नसकेको अवसर वस्तु वा त्यस्तै कुनै पनि कुरा पाउन सक्दो रहेछ । त्यसका जीवन्त र ज्वलन्त उदाहरण हुन् जेठा दाजू जंगबहादुरले त्यति ठूलो परिपञ्च, षड्यन्त्र र विभिन्न कालखण्डमा त्यत्रा जनसंहार गरी प्राप्त गरेको राज्यको शासन सत्ता र शक्ति त्यति सहजै रणोद्वीप र जगतजङ्गको हत्यापछि आफ्ना ७ जना छोरा नातीहरुमा आउला, भोगी खालान् भन्ने कल्पना सायद धीरशमशेरले गरेका थिएनन् होला । तर पनि १९४२ देखि २००७ सालसम्मको साढे ६ दशकको कालखण्डभर उनकै (धीरकै) ७ जना छोरा र नातीहरुले निरंकुश स्वेच्छारी शैलीको ठेड उदाहरण कायम गरी शासन गरेकै थिए ।

१९०३ सालदेखि कायम “द्वैध शासन” परम्पराको २००७ सालमा राणा शासनको अन्त्यसँगै शाहवंशीय एकात्मक शासन प्रणालीको क्रियाशीलताले पुनर्जीवन पायो । त्यसरी २००७ सालसम्म आफ्नै पूर्खा पृथ्वीनारायण शाहले आजैको मुलुकमा तिनै आफ्ना अधीनमा बसी शासन गर्नुपर्ने (राणा प्र.मं)हरुले ठेकी र तोकिदिइएको खान्गी (खर्च) खाई झण्डै सुनको पिंजडाभित्रको सुगाको जस्तो हैसियतमा बसे बाँचेको शाहवंशीयको २००७प छि एकल शासन जुन कायम भयो, सायद उहिले (सय वर्ष पहिले)देखि दमित “सकृय शासन गर्ने” राजइच्छा जागृत भयो । त्यही आकांक्षा”को कारणले हो अथवा राजा भएपछि हिजोका राणाहरुभन्दा बढी राजाका रुपमा भूमिका हुनुपर्छ भन्नेहरुको उक्साहटको उपज हो ? २००७ देखि नै शाह राजाहरुको स्वभाविक भन्दा अलि बढी सकृय गतिविधि देखियो । जस्को ठेठ उदाहरण ०१७ को शाही कदमलाई दिन सकिन्छ ।

तर “प्रजातान्त्रिक गणतन्त्रात्मक राजतन्त्रको सफल उदाहरण” मानिने मूलुक (व्रिटेन)मा उच्च शिक्षा प्राप्त गरेका राजा वीरेन्द्रबाट नेपालको इतिहासमा “जसरी आफ्ना बाबु–बाजेले स्थापित गरेको शासन प्रणालीबारे जनमत लिनेदेखि २०४६ को परिवर्तन र २०४७ को संविधानले परिभाषित र सीमांकित गरिदिएको संवैधानिक राजतन्त्र अनुसारको भूमिकालाई सहज ग्रहण गरियो, त्यसैको परिणति उनको वंशनाशको दुर्नियति देशले भोग्नुपर्यो” भन्नेहरु मुलुक भित्रभन्दा बाहिर बढी देखियो । त्यस्तो गम्भीरतम र अकल्पनीय दुर्घटनाको इतिहासले सत्यतथ्य र उत्तर खोज्ला, त्यता बढी नजाउँ ।

“ग्रहा राज्यं प्रयच्छन्ति, ग्रहा राज्यं हरन्ति च” ज्योतिष शास्त्रविद् भन्छन्– संयोग र नियतिले असंभवप्राय भन्दा बढी दिए पनि आफ्नै दुर्मतीका कारण सर्वस्व गुमाउनुपर्ने दुर्नियतिका शिकार एउटै धीर शम्शेरका छोरा छोरीका सन्तति किन भए ? के यो मात्र संयोग हो अथवा असिमित शक्ति उपयुक्त पात्रहरुका हालमा सुम्पिन दैव चुकेको हो ? उहिले (२०६२÷०६३) को रत्नपार्कको परिदृश्यको रुपान्तारित वा फरक विषय केन्द्रित परिदृश्य सर्वोच्च अदालतमा देख्नु परिरहेछ अहिले । फरक उहिलेको आन्दोलन “ज्ञानेन्द्र” लक्षित थियो, अहिले “चोलेन्द्र” केन्द्रित । पात्र एउटै । अन्तनिर्हित स्वार्थ राज्यको सार्वभौमिक कार्यकारी अधिकारको प्राप्ति, त्यसैको माध्यमबाट आफ्नो सर्वसत्तावादी महत्वाकांक्षा, कार्यकारी शक्तिको आडमा अर्थाेपार्जन र आफ्ना आसे–पासे–गासे भजने समेत सात पुस्ताको लागि वन्दोवन्दी ।

सडकका मान्छेले के भनेका छन् ?

दुनिया अहिले जे भनिरहेछ त्यही भाषा र शैलीमा रुपान्तरित गरेर अभिव्यक्त गरौँ । “नियतिले यी दुवै धीर शम्शेरका ५ पुस्ता जुद्धशम्शेर उनकी माइली छोरीका पूर्व राजा पतितिरका ज्ञानेन्द्र अर्कोतिर धीर शम्शेरका जेठो छोरा वीर शमशेर, उनका छोरा इन्द्र शमशेर, उनका छोरा युवराज शम्शेरका छोरा हालका प्रधान न्यायधीश चोलेन्द्रलाई नियतिले उनीहरुले सपनामा पनि नसोचेको ठाउँमा पुर्याएको थियो । तर उनीहरुको दुर्मतिले दुर्गति भोगायो भोगाउँदै छ किन ?

दुनियाको संक्षिप्त टिप्पणी सुन्दा जति हल्का फुल्का लाग्छ मर्मबोध गर्दा वडो मार्मिक पनि लाग्छ । कारण पनि संक्षेपमा राखौँ । करीब डेढसय वर्ष पहिले पुरानो दरवारभित्र जसरी सयौँको रगतको पोखरीबाट जंगबहादुर उदाएका थिए ठीक त्यसरी नै नभए पनि पछिल्लो नारायणहिटी दरवारभित्रको रहस्यमय (२०५८ जेठ १९ गते रात्रीको अकल्पनीय दुर्घटनाबाट राजगद्दीसीन राजा वीरेन्द्रको सँगै उनका दुवै उत्तराधिकारीका रगतको भेलले ज्ञानेन्द्र शाहलाई राजगद्दीमा पुर्याएको थियो । जुन कुराको परिकल्पना २०५८ जेठ १९ गते को साँझसम्म कुनै नेपालीबाट हुन सकेको थिएन । सायद ज्ञानेन्द्रले पनि गरेका थिएनन् होला । गद्दीनासीन राजाको र उनका छोराहरुको पनि हत्या भएपछि राजगद्दी उत्तराधिकार संवन्धी ऐन अनुसार ज्ञानेन्द्र नै त्यस बखतका एकमात्र नजिकका हकदार थिए, उनैलाई श्रीपेच लगाइयो । त्यो सबै देशको मौजूदा ऐन कानुन विधि विधानसम्मत नै थियो ।

तर दाजुको त्यति कहालीलाग्दो, अपरिकल्पित र हृदयविदारक वंशनाश भएपछि गद्दीनासीन भएका तत्कालीन नयाँ राजा ज्ञानेन्द्रले “जे जस्तो अकल्पनीय दुर्घटनापछि देशको शासनमा मेरो शरीरमाथि आइपर्यो, बोक्नु पर्यो आफ्नो ज्ञान, वृद्धि, विवेकको सम्पूर्ण शक्ति यो देशको सम्वृद्धि, समुन्नति र लोककल्याणकै लागि केन्द्रित गर्नेछु ।

अब मेरो भन्नु नै नेपाली जनता र उनैका सन्तान नै हुन् । मेरो पिता पूर्खाले दिए छाडेकोबाट जीवनयापन गर्छु । मेरो आफ्नै निर्मल निवासमा बसी राष्ट्रले दिएको जिम्मेदारी इमान्दारीता र उच्च नैतिकतापूर्वक जीवन रहेसम्म नेपाली जनताको आस्था, विश्वास र भरोसाको केन्द्रमा रहेर सेवा गर्छु । मलाई स्वर्गवासी पूज्य दाजु र वहाँका परिवारको सम्पत्ति चाहिन्न । राज्यले राजालाई दिँदै आएको खान्गी (बाहुली दाखिला) रकमबाट प्रति महिना (रु १ ) मात्र लिई जननिर्वाचित (जनप्रतिनिधिको) सरकारको निर्णय अनुसार संवैधानिक राजाको उदाहरण प्रस्तुत गर्छु” भनेर राजगद्दीमा बसेको लगत्तै राष्ट्रलाई संबोधन गर्दै घोषणा गरेको भए के हुन्थ्यो ? राजा सिंहानुकभन्दा कम लोकप्रिय हुन्न होलान् । तर नियतिले जसरी श्रीपेच लगाइदियो, उनको दुर्मतिले दलसँग लाप्पा खेल्न लगायो । भिडायो । जसको परिणाम आज “राजतन्त्रबिनाको प्रजातन्त्र र प्रजातन्त्र बिनाको राजतन्त्रले नेपाल राष्ट्रको भलो नहुने” राँडो रुवाई रुनु पर्यो ।

त्यस्तै नेपालमा राणा वंशीयहरुलाई उहिले ‘राजा बाबु साहेब, भन्दै मर्जी, हुकूम, बक्सीयोस” भनेर अति उच्च आदरसाथ जसरी भनिन्थ्यो, मानिन्थ्यो, हेरिन्थ्यो । आज तिनै राणा अनादर, उपहासको पात्र ठानिन्छन्, किन ? त्यो हिजोको राणा अधिवंशवादी शासन परम्पराले जनमानसमा जुन कालो धब्बा लगाएको थियो, आजको राणा पुस्ताले बढी उदार, शालीन जनभावनाको कदर गर्ने भएको भए सायद पुनः आदर पाउने थिए । व्यवहार गर्दा सम्मानित देखिन्थ्यो । त्रिलोक प्रताप राणाहरु त्यसका आदर्श उदाहरण थिए ।

तर एउटा सामान्य कानून व्यवसाय गर्दै सर्वाेच्च अदालतको सर्वाेच्चतम पदमा पुगेका माथी उल्लेख गरिएझै ज्ञानेन्द्रसँग ५ पुस्ताका रक्त सम्बन्धी चोलेन्द्रले आजसम्मका सर्वाेच्चमा राम्रो मिसाल कायम गरेका पहिलेका मात्र होइन पछिल्ला पुस्ताका रामप्रसाद श्रेष्ठ, कल्याण श्रेष्ठ, सुशीला कार्कीको मात्र पाइला समाएका भए आज उनी कति सम्मानित हुन्थे ? दुर्भाग्य !

नियतिले नेपालको सर्वाेच्चतम् न्यायमूर्ति बनाए पनि दुर्मतिले गोपाल पराजुली, दीपकराज जोशी जस्ताले लिएको दुर्गन्धी, बदनाम र जनताको पिच्क्याइ पाउने बाटोमा देखिए । उनलाई पनि नियतिले उच्चतम पद दिएको भए पनि दुर्मतीले दुर्गती भोग्न पुगेका व्यक्तिका कोटीमा पुर्याएको देखियो । भनिन्छ “लोभः पापस्य कारणम्” सायद खिलराज रेग्मी प्रधान न्यायाधीश छँदै जसरी देशको कार्यकारी अंगको प्रमुख बने आफू पनि त्यस्तै हुने चाहना थियो होला चोलेन्द्रलाई ।

त्यो नपाएपछि दलहरुसँग भयदोहन (ब्ल्याकमेल) गरेर राज्यका प्रमुख निकायमा आफ्ना वा आफूलाई ठुलै लाभ पुर्याउनेलाई घुसाई लाभ लिने मनसुवाले काम गर्यो । तर दलहरुसँग जुध्दा ज्ञानेन्द्रले के हविगत भोग्नुपर्यो ? त्यो भने चोलेन्द्रले सर्लक्कै बिर्से । जस्को कारण न्यायमन्दिर र देशको न्याय प्रणालीलाई नै आफ्नै कब्जामा राखी बन्धक बनाउने जमर्काे गरिरहेछन् । उनले दल र बारलाई जित्लान्, अथवा उनी हार्लान् भोलि थाहा होला । तर जनताको आस्था, विश्वास र भरोसाको एकमात्र न्याय मन्दिरको जग चोलेन्द्रको अहं, लोभ र लालची प्रवृत्तिले नराम्ररी हल्लाइदियो । त्यो भने छर्लङ्ग भयो । दुनियाले त्यही भनिरहेछ ।

अन्त्यमा यौटा नीतिसूत्रको मन्त्र– “यावत् भृयेत जठरं तावत् स्वत्वं हि देहिनांम् । अधिर्क यो भिमन्येत स स्तेय दण्डमर्हति ।।” (जतिले पेटभरि खान पुग्छ त्यतिसम्म लिन राख्न पाउने मान्छेलाई हक हुन्छ । त्यो भन्दा बढी लोभलाभ गर्ने, लिने, खाने, कमाउने सोच राख्ने चोर हो, ऊ दण्डनीय मानिन्छ ।) यहाँ ज्ञानेन्द्र र चोलेन्द्र त लेखका बिम्व मात्र हुन् । सबैमा चेतना भया !

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button