अरुणबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुद बनाउँछ :अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताउनुभएको छ । अरुणमा जलविद्युत आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको मन्त्री शर्माको भनाइ थियो ।

खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युतले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने पनि बताउनुभयो ।
सो अवसरमा उहाँले नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा माथिल्लो अरुण, किमाथाङ्का अरुण निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।
“अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दैछ”, मन्त्री शर्माले भन्नुभयो । व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधन सङ्खुवासभामा रहेका कारण सरकारले लगानी बढाउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्