कार्यवाहक प्रधानमन्त्री खाँण सुदूरपश्चिमको बाढी प्रभावित क्षेत्रमा
प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँण सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका क्रममा डडेल्धुरा पुग्नुभएको छ ।

प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले डडेल्धुराको गन्यापधुरा–१ र ३ स्थित बाढीपहिरो क्षेत्रको निरीक्षण गर्नुभएको छ । उहाँलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिराबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै राहत र बस्ती स्थानान्तरणका लागि आग्रह गर्दै ज्ञापनपत्र बुझाउनुभयो ।
सो अवसरमा कार्यवाहक प्रधानमन्त्री खाँणले जनतालाई राहत र घर निर्माणका लागि सरकारले सक्दो सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस क्षेत्रमा बाढीपहिराबाट झण्डै २५० घरधुरी जोखिममा पर्नुका साथै खेतीयोग्य जमिनसमेत कटानमा परेको छ ।
उहाँले ती जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनःनिर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तरक्रियासमेत गर्नुहुने छ । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म ती जिल्लामा भएका बाढीपहिराको घटनामा परी ठूलो जनधनको क्षति भएको थियो ।
सो क्षेत्रको भ्रमणमा जानुअघि मन्त्री खाँण कर्णाली प्रदेशको राजधान सुर्खेत पुग्नुभएको थियो । गृहमन्त्रीलाई खाँणलाई कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतका नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गर्नुभएको थियो ।
गृहमन्त्रीका साथ ती जिल्लाका सांसद्, पूर्वमन्त्री एवं जनप्रतिनिधि र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेललगायत सहभागी हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्