जल/वातावरणबिचार

जलवायु परिवर्तन न्यूनीकरणका लागि वैदिक संस्कृति– सफाई, शुद्धता र प्रकृति पूजा

यतिबेला बेलायतमा विश्व जलवायु सम्मेलन चलिरहेको छ । पृथ्वीको भविष्य नै अनिश्चित हुने हो कि भन्ने भयकाबीच जलवायु परिवर्तनका कारक पक्षहरुको न्यूनीकरणका लागि बहस, योजना र विमर्श भैरहको छ । हुन पनि अहिले विश्वकै लागि शुद्ध वातावरण कायम राख्नु एउटा ठूलो चुनौति भएको छ । संसारभर वातावरणीय प्रदूषणले अनेक समस्या निम्त्याइरहेका छन् । जलवायु परिवर्तन, तापक्रम वृद्धि लगायतका अनेक समस्याहरूले मानव सभ्यतालाई नै चुनौति दिने संकेत गरिसकेको छ । कुनबेला कस्तो महाविनाशकारी लीला प्रकृतिले मच्चाउने हो भन्ने चिन्ता विद्यमान नै छ । सुनामी, क्याटरिना जस्ता समुद्री आँधीसंगै चाहिने बेलामा कम वर्षा हुने र अनावश्यक समयमा बढी वर्षा हुने गर्दा पनि पृथ्वीबासीले अनेक कष्ट सहनु परिरहेको छ ।

अतिवृष्टि र अनावृष्टिसंगै खाद्यान्न उत्पादनमा हुने कमी र खानेपानीको अभाव पनि वातावरणीय प्रदूषणसंगै जोडिएको छ । विश्वमा अहिले भैरहेको वातावरणीय प्रदूषणको सर्वाधिक ठूलो जिम्मेवारी धनी र औद्योगिक मुलुकहरूले लिनुपर्ने भए पनि नेपाल वातावरण संरक्षणको परम्परागत विधि पद्धति र संस्कार भएका मुलुकहरूले कथित आधनिकताका नाममा परम्परा त्याग्दा अनेक समस्या सिर्जना गरिहेका छन् ।

नेपाली समाजमा जानेर वा नजानेर परम्परा निर्वाहकै लागि भने पनि प्रकृतिका विविध आयामहरुको पूजा गरी संरक्षण गर्ने संस्कृति कायमै छ । किनभने नेपालको मौलिक पहिचान भनेको यहाँको शुद्ध वातावरण नै हो र यसबाट मात्र मानिस स्वस्थ रहनसक्छ भन्ने विवादको विषय नै रहेन । स्वच्छ जल, शुद्ध वायु, लहलह अन्न फल्ने तराईका समथर मैदान, हरियाली डाँडापाखा र सेताम्य मनोरम हिमाल नै नेपालको सम्पत्ति हो । धार्मिक–सांस्कृतिक मान्यताले पनि यी वस्तुहरूको संरक्षण गर्नुपर्ने शिक्षा प्रदान गरेका छन् ।

वातावरण दूषित पार्नु हुँदैन यसले मानवलाई नै हानी पुर्याउँछ भनेर अनेक वैदिक मन्त्रहरूको रचना गरियो । बम र गोला बारुदको साटो स्वस्ती वाचन र शंख तथा घण्टका मधुर ध्वनीले वातावरणलाई शुद्ध पार्नुपर्छ भन्ने मान्यता अघि सारियो । राँको र टायरको साटो सुगन्धित चरु उत्सर्जन गर्ने विधि बसाइयो । खै यसको पालना । पश्चिमा मुलुकहरु यसैको सिको गर्दैछन् । हामी भने उनीहरुको दास बनिरहेका छौं । आफ्नैं घरमा आफैं पराई हुनुको दृष्टान्त अहिले छ ।

नेपालको मौलिक पहिचानको हामीले ख्याल गर्न सक्यौं भने र यसको रक्षा गर्ने जमर्को गर्यौं भने हामी विश्वमा नमूना राष्ट्रको रुपमा उभिने छौं । वातावरण शुद्ध राख्ने यज्ञ–यगादि गर्नुको साटो टायर बालेर विरोध प्रदर्शन गर्न थाल्यौं भने हाम्रो मन्दिर, मस्जिद, नदी, पहाड, हिमाल सवै ध्वस्त हुने दिन धेरै टाढा छैन । तर यसको विपरीत हामी प्रत्येक गाउँमा यज्ञस्थल निर्माण गर्ने र वातावरणलाई सुगन्धित पार्ने हवन आदि कार्य गर्ने अभियान नै चलाइनु पर्दछ ।

विश्वका धनी मुलुकहरूले अहिले यज्ञ विधिको सिको गर्दै प्रत्येक मानिसलाई केही समय मात्र भए पनि यज्ञ गर्न आव्हान गरेका छन् । कतिपय अरबी मुलुकमा रुख अगाडि पुगेर स्वचालित यज्ञयन्त्रमा चरु होमेर यज्ञ गर्ने चलन बसालिएको छ । तर यज्ञ–यज्ञादिको उद्गमस्थल मानिएको नेपालमा यसलाई बाहुनको ठगी खाने पेशाको रुपमा दुत्कारिएको छ । विश्वले ज्ञान–विज्ञानदेखि शिक्षा र स्वास्थ्यमा समेत हाम्रा मौलिक शिक्षा पद्धतिको सिको गरेर आफू सुरक्षित र ढुक्क हुनथालेका छन् भने हामी भने हाम्रै सम्पत्तिमाथि आगो लगाइरहेका छौं । हाम्रो विडम्वना नै यही हो ।

वस्तुतः यज्ञ प्रकृतिसंग निकट रहने एक विधि हो । रोगनाशक औषधिहरुको मिश्रणद्वारा गरिएको यज्ञले प्रदूषण मुक्त गरेर स्वस्थ रहन सघाउ पुग्छ । यज्ञमा प्रयोग गरिने दूध, फल, घीउ, विविध अन्न, चामल, जौ, गहुँका साथमा कपुर, चन्दन, अलैंची, ल्वांग आदिले वातावरण शुद्ध राख्न र रोगव्याधी फैलाउने किटाणु नाश गर्न मद्दत गर्छ । आधुनिक चिकित्सा विज्ञानले पनि परीक्षण गरेर वायु शुद्धि र रोग निवारणमा सघाउ पुग्ने वैदिक मान्यतालाई स्वीकार गरिसकेको छ ।

जलवायु परिवर्तनमा प्रकृतिको कुनै भूमिका छैन । प्रकृतिले अनायासै आफैं तापक्रम बढाउने वा घटाउने काम गर्दैन, प्रकृतिको आफ्नै चक्र छ । यसका लागि मानवीय काम–कारबाही नै सर्वाधिक महत्वपूर्ण हुन्छ । मानवीय गतिविधिका कारण उत्पन्न भएको कार्बन डाइ अक्साइड ग्यासको उत्सर्जन नै पृथ्वीको तापक्रम वृद्धिको सवभन्दा ठूलो कारण हो ।

मानवीय कारणले नै पृथ्वीको तापक्रम बढ्दैछ । यति वर्षपछि यति बढ्छ र यति वर्षपछि यो यो कुराको अभाव हुनेछ भन्ने अनेक तथ्यांकहरू सार्वजनिक भैरहेका छन् । समुद्रको सतह बढ्नेदेखि लिएर हिमालका हिउँ पग्लने तथा जमिनको उर्वराशक्ति घट्ने र खाद्यान्न उत्पादनमा अकल्पनीय कमी आइ भोकमरी बढ्ने एवं खानेपानीको समेत प्रचूर अभाव हुने अनेक विवरणहरू सार्वजनिक भैरहेका छन् । यी सब मानवीय कारणले मात्रै भएको हो ।

वैज्ञानिकहरूका अनुसार वितेको ५० वर्षमा तापक्रम वृद्धिका लागि हरित गृह ग्यास उत्सर्जनको हिस्सा ९० प्रतिशत रहेको छ । अहिले जसरी नै इन्धनको उपयोग भैरहेको छ यसले अझ बढी कार्बन डाई अक्साइड बढाउने छ । आगामी दशकमा पृथ्वीको औसत तापक्रम लगभग तीन डिग्री सेल्सियस बढ्ने छ । यसले पृथ्वीमा सुख्खा बढ्ने र भोकमरीको संख्या ह्वात्तै बढ्ने त छँदैछ अर्कोतिर समुद्रको सतह पनि एक्कासी बढ्नेछ ।

अहिलेकै अनुपातमा तापक्रम वृद्धि हुने हो भने सन् २१०० सम्म समुद्रको जलसतह २८ देखि ४३ सेन्टिमिटरसम्म बढ्नेछ । केही वर्ष अघि अष्ट्रेलियाका शोधकर्ताहरूले पाएको तथ्य अनुसार सन् १८७० यता समुद्री जलसतह १९.५ सेन्टिमिटरले वृद्धि भएको छ । जलवायु परिवर्तन सम्बन्धी अर्को एक प्रतिवेदनले १९९० देखि २१०० सम्म समुद्रको जलस्तर ९ देखि ८८ सेन्टिमिटरसम्म बढ्नसक्ने उल्लेख गरेको छ ।

जलवायु परिवर्तनले पृथ्वी तात्दै छ र छैन भन्ने दुईपक्षीय तार्किक लडाइँ पनि जारी नै छ । कतिपय वैज्ञानिकहरू जलवायु परिवर्तनका लागि मानवीय गतिविधि जिम्मेवार छ भन्ने तर्कको खण्डन गर्छन् । उनीहरू “पृथ्वीमा तातो र चीसो हुने एउटा चक्र बनेको छ जो प्रकृतिमाथि निर्भर रहन्छ । यसमा मानवको कुनै नियन्त्रण हुँदैन” भन्छन् । अर्कोतिर पृथ्वीको तापक्रममा देखिएको वृद्धि समान्य भएको र यसमा केही समयपछि कम हुने दाबी पनि गर्न थालिएको छ । अनुसन्धानकर्ताहरू ५ दशक अघिको दृष्टान्तहरू प्रस्तुत गर्दै पृथ्वीको तापक्रम वृद्धि सामान्य मात्र हो भन्ने निष्कर्षमा समेत पुगेका छन् ।

पृथ्वीको बढ्दो तातोपनका लागि वैज्ञानिकहरू पनि तातो बहसमा उत्रिरहेका छन् । उनीहरूको यो बहसले अहिलेसम्म कुन निष्कर्ष सही हो र कुन गलत भन्ने छुट्याउन मुस्किल छ । उनीहरू आ–आफ्नो अध्ययनका आधारमा उदाहरणरहित प्रस्तुत भैरहेका छन् । तर जुन कालखण्डको उदाहरण दिने गरिएको छ त्यो कालखण्ड र अहिलेको समयमा आकाश जमिनको अन्तर छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button