बुधबार थपिए तीन हजार तीन सय ९ संक्रमित, ३० जनाको मृत्यु
देशभरमा आज कोभिड–१९ का तीन हजार ३०९ सङ्क्रमित थपिएका छन् । त्यसै गरी थप ३० जनाको मृत्यु भएको छ । बुधबारसम्म देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ३४ पुगेको छ ।

त्यसै गरी पछिल्लो २४ घण्टामा नै तीन हजार ८४४ सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार थपिएका सङ्क्रमितमध्ये पुरुष दुई हजार पाँच र महिला एक हजार ३०४ रहेका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सङ्क्रमणमुक्त भएका तीन हजार ८४४ समेत गरी आजसम्म एक लाख ४४ हजार ९७८ सङ्क्रमणमुक्त भएको जानकारी दिनुभयो ।
आजसम्म निको हुने दर ७९ दशमलव तीन प्रतिशत रहेको छ । आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार ९११ पुगेको मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १२ दशमलव तीन प्रतिशत छ । यससँगै जम्मा सङ्क्रमितको सङ्ख्या एक लाख ८२ हजार ९२३ पुगेको छ ।
काठमाडौँ उपत्यकामा बुधबार एक हजार ८७८ सङ्क्रमित थप भएका छन् । काठमाडौँ जिल्लामा एक हजार ५७०, ललितपुरमा १८९ र भक्तपुरमा ११९ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा आज थपिएका सङ्क्रमितमध्ये एक हजार १४१ पुरुष र ७३७ महिला छन् । उपत्यकाकाका काठमाडौँमा १६ हजार ४२०, ललितपुरमा दुई हजार २७४ र भक्तपुरमा एक हजार ११४ सक्रिय सङ्क्रमित छन् । त्यस्तै होम आइसोलेशनमा रहनेको सङ्ख्या काठमाडौँमा १० हजार ९३१, ललितपुरमा दुई हजार २४५ र भक्तपुरमा एक हजार ७३० छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १३ हजार हजार १४४ नमूना परीक्षण भएको थियो । हालसम्म १४ लाख ९४ हजार १२२ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ५१ हजार २०२ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १२ दशमलव तीन प्रतिशत छ । क्वारेन्टिननमा रहेकाको सङ्ख्या एक हजार ३०५ छ ।
सक्रिय सङ्क्रमितमध्ये हाल ३० हजार १३१ होम आइसोलेशन र छ हजार ७८० संस्थागत आइसोलेशनमा छन् । प्रदेशअनुसार होम आइसोलेशनमा रहनेको सङ्ख्या प्रदेश नं १ मा पाँच हजार ३०९, प्रदेश नं २ मा एक हजार ११, वाग्मतीमा १८ हजार ४३, गण्डकीमा एक हजार ७१०, लुम्बिनीमा दुई हजार ७३८, कर्णालीमा २७० र सुदूरपश्चिम प्रदेशमा ९८० रहेको छ । त्यस्तै संस्थागत आइसोलेशनतर्फ प्रदेश १ मा ११२, प्रदेश २ मा ३८, वाग्मतीमा पाँच हजार १८५, गण्डकीमा ८९५, लुम्बिनीमा ४४९, कर्णालीमा ४४ र सुदूरपश्चिम प्रदेशमा ५७ रहेको छ ।
देशभरमा बुधबार ३७९ सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा ४८, प्रदेश २ मा आठ, वाग्मतीमा १७९, गण्डकीमा ८६, लुम्बिनीमा ४८, कर्णालीमा चार र सुदूरपश्चिममा छ सङ्क्रमित आइसियूमा छन् । त्यस्तै प्रदेश १ मा १३, वाग्मतीमा ५०, गण्डकीमा आठ, लुम्बिनीमा चार र सुदूरपश्चिममा तीन गरी ७८ सङ्क्रमित भेण्टिलेटरमा छन् ।
१३ जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित, दुईमा शून्य
आजसम्म देशभरका ७७ जिल्लामध्ये १३ मा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने तीन जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी९बर्दघाट सुस्तापूर्व०, रुपन्देही र दाङ छन् । आज मनाङ र बाजुरामा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् ।
प्रदेश नं १ मा ३०४ थप
विराटनगर– प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ३०४ कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार उक्त अवधिमा गरिएको एक हजार १९८ जनाको पिसिआर परीक्षणमा १२३ महिला र १८१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
मोरङमा १५५मध्ये विराटनगरमा १११, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा तीन, धनकुटा र इलाममा दुईदुई र प्रदेश बाहिरका सात जना छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २० हजार ४०१ पुगेको छ ।
प्रदेशमा आज ४२२ सङ्क्रमित निको भएका छन् । त्यस्ताको सङ्ख्या अहिलेसम्म १२ हजार १०१ पुगेको छ । प्रदेशमा अहिलेसम्म एक लाख ६४ हजार ६४० जनाको पिसिआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्