राजनीति

नेपालका लागि छात्रवृत्तिको कोटा बढाउन अष्ट्रेलिया सरकारलाई आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अष्ट्रेलिया सरकारलाई नेपाली विद्यार्थीलाई दिने गरेको छात्रवृत्तिको कोटा बढाउन आग्रह गर्नुभएको छ ।

बुधबार नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँगको शिष्टचार भेटवार्ताका क्रममा नेपालको शैक्षिक विकासका विषयमा भएको छलफलमा मन्त्री पौडेले सो आग्रह गर्नुभएको हो ।

भेटवार्तामा मन्त्री पौडेलले सन् १९६० देखि द्विपक्षीय सम्बन्ध उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै अष्ट्रेलिया सरकारले शैक्षिक छात्रवृत्तिको कोटा बढाउन आग्रह गर्नुभयो ।

भेटमा राजदूत फेलिसिटीले सन् २०२२ मा २० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताउनुभयो । उहाँले नेपालमा विकास सहयतामार्फत कोभिड महामहारीका बेला रेडियो कार्यक्रमलगायत सहयोग गरेको बताउँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राजदूत फेलिसिटीले सन् २०२३ सम्म नेपाललाई १ मिलियन अमेरिकन डलर सहयोग गर्ने बताउनुभयो । उहाँले नेपाली विद्यार्थीले कोभ्याक्स र एस्ट्राजेनेकाको दोस्रो डोज कोरोना खोप लगाए क्वारेन्टाइनमा बस्नु नपर्ने सरकारको नीति रहेको सुनाउनुभएको थियो ।

भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादव, मन्त्रालयका सचिव रामप्रसाद थपलियालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button