छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
धादिङ, अर्घाखाँची र कपिलवस्तुमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । धादिङको थाक्रे गाउँपालिका-७ स्थित सडकमा बा.७० प १६५१ नम्बरको मोटरसाइकल र बा. ९७ प २८५२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा बा.७० प १६५१ नम्बरको मोटरसाइकल चालक सोही गाउँपालिका-६ नौकिल्ला बस्ने ६० वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको छ ।
दुबै मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बा.७० प १६५१ नम्बरको मोटरसाइकल ना.६ ख ३०१३ नम्बरको ट्रकमुनि पर्न गई दुर्घटना भएको थियो । साथै दुर्घटनामा घाइते भएका बा.९७ प २८५२ नम्बरको मोटरसाइकल चालकलाई उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै अर्घाखाँचीको पाणिनी गाउँपालिका-३ दुर्घाफाँटस्थित सडकमा ना.३६ प ३५०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा चालक सोही गाउँपालिका-४ निगाली बस्ने १८ वर्षीय गौतम विक र मोटरसाइकलमा सवार २४ वर्षीय सागर विकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रमममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनालाई थप उपचारको लागि पाल्पा रिफर गरिएको छ ।
यस्तै कपिलवस्तुको कृष्णनगर नगरपालिका-१ शिवनगरस्थित सडकमा लु.१ ह २६९ नम्बरको अटोले लु. १ ह ८२४ नम्बरको अटोलाई ठक्कर दिई सोमबार साँझ दुर्घटना हुँदा लु. १ ह ८२४ नम्बरको अटोमा सवार महारागंज नगरपालिका-११ बडगाउँ बस्ने ३५ वर्षीय बिष्णु अधिकारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका लु. १ ह ८२४ नम्बरको अटोमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले लु.१ ह २६९ नम्बरको अटो चालकलाई नियन्त्रणमा लिई हाल फरार लु.१ ह ८२४ अटो चालकको खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया राख्नुहोस्