अर्थ

लक्ष्मीपूजाकै दिन विद्युत भारत निर्यात, स्वदेशमा १२ सय ७० मेगावाट खपत

केही वर्षअघिसम्म तिहारमा राम्रोसंग झिलिमिली बत्ती बाल्नु रहर नै हुन्थ्यो । तर अहिले त्यस्तो अवस्था छैन । यति मात्र हैन धनकी देवी देवीको आराधना गर्ने दिन नै नेपालबाट ४८ मेगावाट विद्युत भारत निर्यात समेत भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग १२ सय ७० मेगावाट पुगेको र लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात गरिएको छ भने आयात शुन्यमा झरेको छ ।

प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५ सय मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेको थियो ।

प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सवा ६ बजे पिक डिमाण्ड १२ सय ७० मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११ सय २३ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड १४७ मेगावाट बढी हो ।

विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ । यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष यस क्षेत्रको पिक डिमाण्ड २९६ मेगावाट थियो ।

चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमाण्ड १६ सय १४.८ मेगावाट रेकर्ड गरिएको छ । यो डिमाण्ड गत असोज १० गतेको हो । सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत माग १७ सय ५८.८ रेकर्ड गरिएको छ । यो नै अहिलेसम्मको सबैभन्दा बढी पिक डिमाण्ड हो ।

यस वर्षमा लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले पर्याप्त विद्युत रहेकाले ढुक्कसँग बत्ति बाल्न उपभोक्तहरुलाई आग्रह गरेको थियो ।

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button