राजनीति

नेपाल संवतको प्रचलनसँगै गरिबी उन्मूलन : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको प्रचलनसँगै गरिबी उन्मूलनको अभियान सुरु भएको बताउनुभएको छ । उहाँले नेपाल संवत् नेपालको मौलिक संवत् भएकाले यसलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल संवत् ११४२ को अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज मध्यपुरथिमि शङ्खधर चोकमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन साख्वाःले योगदान गर्दै राष्ट्रको गौरव बढाएकाले उहाँलाई राष्ट्रिय विभूति घोषणा गरिएको प्रधानमन्त्री देउवाले बताउनुभयो ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्थामा पुर्याएको उहाँले चर्चा गर्नुभयो ।

प्रधानमन्त्री देउवाले नेपालमा रहेका विविध धर्म संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाउँदै नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल संवत् एप र नेपाल संवत्को पात्रो सार्वजनिक गर्नुभएको थियो । सो अवसरमा उहाँले साख्वाःको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

कार्यक्रममा शङ्खधर सिरपा समितिका अध्यक्ष आरके मानन्धरले शङ्खधर प्रतिष्ठानका लागि प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठलाई शङ्खधर साख्वाःको दुई किलोको चाँदीको प्रतिमा हस्तान्तरण गर्नुभयो । उक्त प्रतिमा शङ्खधर चोकमा रहेको सङ्ग्रहालयमा राखिने छ ।

प्रतिष्ठानले संस्थागततर्फ नेपाल पञ्चाङ्ग निर्णायक समिति र व्यक्तिगततर्फ शङ्खधर प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ ।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत, सांसद् महेश बस्नेत, बागमती प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठललगायतले शङ्खधर साख्वाःले देशमा पुर्याएको योगदानको चर्चा गर्दै प्रतिष्ठानको देशव्यापी अभियान सफल पार्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका सभापति एवं प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, प्रतिष्ठानका निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धर, प्रतिष्ठानका सचिव ज्ञानराम श्रेष्ठले शङ्खधरको योगदानलाई जीवन्त बनाउन प्रतिष्ठानले गर्दै आएको कामका बारेमा जानकारी गराउनुभएको थियो ।

यसै गरी प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाल संवत्को सांस्कृतिक महत्वलाई प्रवद्र्धनका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभएको छ ।

नयाँ वर्ष नेपाल संवत् ११४२ का अवसरमा ललितपुरको मङ्गलबजारमा सांस्कृतिक र्यालीको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले नेपाली संस्कृति र जनजीवनको भावनासँग जोडिएको नेपाल संवत्को ऐतिहासिकता र महत्वलाई थप प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नयाँ वर्षका अवसरमा शुभकामना दिँदै सरोकार भएका पक्षको सुझाव र मागका आधारमा सरकारले उक्त संवतका लागि गर्नुपर्ने प्रवद्र्धन र संरक्षणमा उचित ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विभिन्न जातीय संस्थाले हरेक वर्ष मनाउँदै आएको उक्त संवतका अवसरमा यस वर्ष देउला समाजको संयोजन र नेपाल खड्गी समाजको सहसंयोजनमा र्यालीको आयोजना गरिएको थियो । मङ्गलबजारबाट परम्परागत बाजागाजा र वेषभूषासहित सौघाललगायत भित्री सहर हुँदै पुनः मङ्गलबजार पुगेर र्यालीको समापन भएको थियो ।

कार्यक्रममा नेपाल भाषा मंका खलः ललितपुरका अध्यक्ष ऋषिप्रसाद श्रेष्ठले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिइसकिएकाले यसलाई सरकारी कामकाजको मान्यता दिन सरकारले ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.