दुई दिनभित्र सबै भूकम्प पीडितलाई राहत : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले दुई दिनभित्र सबै भूकम्प पीडित नागरिकलाई राहत सामग्री उपलब्ध हुने बताउनुभएको छ ।
उपप्रधानमन्त्री खड्काले आइतबार भूकम्पमा ज्यान गुमाएकी जाजरकोट नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंह लगायतकालाई श्रद्धाञ्जली व्यक्त गर्दै सो कुरा बताउनुभएको हो ।
उपप्रधानमन्त्री खड्काले भूकम्प पीडितको उपचार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै भन्नुभयो, “जसरी भूकम्पका घाइतेको उद्धार गरेका छौँ, सोही गतिमा राहत पनि वितरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उपप्रधानमन्त्री खड्काले राहतलगत्तै पुनःनिर्माणको काममा सुरु हुने बताउनुभयो । उहाँले घाइतेहरूको उपचार सुर्खेत, नेपालगञ्ज र काठमाडौँमा भइरहेको बताउँदै उपचारमा कुनै किसिमको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
आइतबार उपप्रधानमन्त्री खड्काले जाजरकोटको त्रिवेणी नदीमा उपप्रमुख सिंहलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
उहाँले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एकैदिनमा घाइतेलाई उद्धार गर्न सरकार सफल भएको बताउँदै आजदेखि राहत वितरण सुरू गरिने जानकारी दिनुभयो ।
गत शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण नलगाड नगरपालिकामा उपप्रमुख सिंहसहित ५५ जनाको ज्यान गएको थियो भने जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।
नलगाड नगरपालिका– ४ का अध्यक्ष बद्रीबहादुर पन्तले उपप्रमुख सिंहको निधनबाट पालिकालाई ठूलो क्षति पुगेको बताउनुभयो । “पालिकाको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति गुमाउँदा ठूलो पीडा भएको छ”, उहाँले भन्नुभयो ।
उपप्रमुख सिंहको निधन सदरमुकाम खलङ्गामा भए पनि श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर नलगाड ल्याइएको थियो । अध्यक्ष पन्तका अनुसार भूकम्पमा परी मृत्यु भएका पालिकाका ५५ जनाकै दाहसंस्कार भइसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्