कोरोना रिपोर्टमा 'साइकल थ्रेसहोल्ड' (सिटी भ्यालु)को महत्व र संक्रमणको भार
चिकित्सक विज्ञानमा विभिन्न किसिमका परीक्षणमा अंक बढी हुनु धेरै रोगका लागि जोखिमपूर्ण मानिन्छ । जस्तो रगतमा सुगरको मात्रा चाहिनेभन्दा बढी हुँदा त्यो जोखिमको मानिन्छ तर बढी अंक सबैका लागि जोखिम हैन कम जोखिम मानिन्छ । यस्तैमा पर्दछ कोरोना भाइरस परीक्षणको रिपोर्टमा देखाइने सिटी भ्यालु ।
रिपोर्टमा सिटी भ्यालु जति कम भो भाइरसको संख्या बढी र अरुलाई संक्रमित गर्ने क्षमता उच्च रहन्छ भने सिटी भ्यालु बढी भएमा भाइरस कमजोर र अरुलाई सार्ने सम्भावना न्यून रहन्छ । यसै विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले सिटी भ्यालुका विषयमा दिनुभएको जानकारी यस्तो छ-
केही समय अगाडिसम्म कोरोनाको रिपोर्टमा पोजेटिभ हो वा नेगेटिभ भन्नेमात्र उल्लेख हुन्थ्यो। अहिले भने रिपोर्ट दिँदा त्यसमा कोरोनाको जीनको ‘सिटी भ्यालु’ समेत समावेश गर्न थालिएको छ। त्यसैले अहिले धेरैको जिज्ञासा नै सिटी भ्यालु के हो भन्नेमा छ।
सिटी अथवा ‘साइकल थ्रेसहोल्ड’ को भ्यालु(अंक) चिकित्सकको लागि महत्वपूर्ण हुन्छ। यसबाट बिरामीमा भाइरसको भार, संक्रमणको गम्भीरता र संक्रमण फैलाउन सक्ने क्षमता अनुमान गर्न सकिन्छ।
सामान्यतया सिटी भ्यालुको अंक ३७ पछि कोरोना नेगेटिभ भएको मानिने गरिन्छ। सिटी भ्यालु जति कम भयो त्यति नै भाइरसको भार बढी, संक्रमणको लक्षण गम्भीर र बढी संक्रामक हुनसक्ने अनुमान गरिन्छ। तर सिटी भ्यालुको अंक जति बढी भयो त्यति नै भाइरसको भार कम, लक्षण र संक्रामक कम हुने अनुमान गरिन्छ।
अस्पतालमा भर्ना भएकाहरूको सिटी भ्यालु पनि सुरूमा कम देखिने र उपचार गर्दै जाँदा बढ्दै गएर कोरोना नेगेटिभ आएको देखिन्छ। होम आइसोलेसनमा रहेकाहरूले १४ दिन वा तेस्रो सातापछि पिसिआर परीक्षण गर्दा सिटी भ्यालु पहिले गरेको परीक्षणमा भन्दा बढेर नेगेटिभ आएको पाइन्छ।
तर कतिपय व्यक्तिमा सुरूमा सिटी भ्यालु बढी देखिने र १० वा १४ दिनपछि पुनः परीक्षण गर्दा सिटी भ्यालु बढेको पनि देखिन्छ। जसले गर्दा भाइरसको संख्या घट्दै जानुपर्नेमा किन बढ्दै गएको भन्ने जिज्ञासा हुनसक्छ।
कहिलेकाहीँ भाइरस संक्रमणको सुरूआती समयमा पूर्ण रूपमा फैलिनसकेको हुनसक्छ। जसले गर्दा सिटी भ्यालु बढी देखिने गर्छ। तर पछि भाइरस तीव्र गतिमा फैलिँदा सिटी भ्यालु पहिलेको भन्दा कम देखिन सक्छ। तर त्यस्ता भाइरस निष्क्रिय भएको हुनसक्छ।
पिसिआरले भाइरस सक्रिय वा निष्क्रिय भएको दुबै अवस्थामा पनि देखाउने गर्छ। जसले गर्दा कुनै व्यक्तिको शरीरमा हप्तौंसम्म निष्क्रिय भाइरसको अंशहरू बाँकी रहँदा पनि पिसिआरले पटक-पटक पोजेटिभ देखाइ रहनसक्छ।
अनुसन्धानहरूले सिटी भ्यालु २५ भन्दामाथि भए उक्त संक्रमितबाट भाइरस सर्ने सम्भावना अत्यधिक कम हुने अर्थात् सक्रिय भाइरसको संख्या कम हुने भन्ने देखाएको छ।
सय भन्दा बढी अध्ययन अनुसन्धानहरूको आधारमा संक्रमण भएको १० दिन र सिटी भ्यालु ३० भन्दा बढी भए संक्रमितबाट कोरोना सर्दैन भन्ने प्रस्ताव गरिएको थियो। अर्थात् त्यस्ता व्यक्ति आइसोलेसनमा बसिरहनु पर्दैन भन्ने हो।
सिटी भ्यालुको सम्बन्ध संक्रमणको गम्भिरतासँग सधैं सबैमा लागू नहुन पनि सक्छ। कतिपयमा सिटी भ्यालु कम भएका संक्रमितहरू लक्षणविहीन वा सामान्य लक्षण रहेको पनि देखिएको छ।
आइसोलेसनमा रहँदा त्यस्ता संक्रमितहरूलाई स्वास्थ्यकर्मीको सहयोग आवश्यकता नपरेको पनि देखिएको छ।
केही अनुसन्धानकर्ताहरूले सिटी भ्यालुको आधारमा मात्र यकिन अवस्था अनुमान गर्न नसकिने र कहिलेकाहीँ एउटै व्यक्तिको नमुना फरक-फरक ठाउँबाट लिएर परीक्षण गर्दा सिटी भ्यालु फरक देखाउने पनि गर्छ। त्यसैले सिटी भ्यालुको विश्लेषण गर्दा चिकित्सकहरूको परामर्श लिनु राम्रो हुन्छ।
सिटी भ्यालुले संक्रमणको महामारी आक्रामक वा मत्थर हुँदै गइरहेको छ भनेर अनुमान गर्न सहयोगी हुनसक्ने भनिएको छ।जस्तै: कुनै क्षेत्रका धेरै मानिसहरूको परीक्षण गर्दा सिटी भ्यालु कम देखिए त्यस क्षेत्रमा संक्रमण अझै फैलिँदै गएको भनेर अनुमान गर्न सकिन्छ। तर सिटी भ्यालु बढी देखिए त्यस क्षेत्रमा संक्रमण मत्थर हुँदै गइरहेको भने बुझ्न सकिन्छ।
पछिल्लो समय काठमाडौंमा परीक्षण गरिएकाहरूमा सिटी भ्यालु उच्च देखिन थालेको छ। जसले गर्दा संक्रमण मत्थर हुँदै गइरहेको भन्ने संकेत गर्छ।
(प्रस्तुत विवरणलाई सेतोपाटीबाट साभार गरिएको हो)
प्रतिक्रिया राख्नुहोस्