एसपी डा मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा सङ्ज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले एक प्रेस विज्ञप्ति जारी गरी डा मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले उक्त पुरस्कार प्रदान गर्नुहुने जनाएको छ ।
डा मल्ल कङ्गोस्थित शान्ति सैन्यमा स्वास्थ्य तथा वातावरण एकाइका प्रमुख हुनुहुन्छ । उहाँले राजधानी किन्सासामा उक्त एकाइ स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
प्रहरी उपरीक्षक डा. मल्लले त्यहाँ कार्यरत रहेदेखि कोभिड-१९ को महामारीको बेला स्वास्थ्य र वातावरण क्षेत्रमा सुम्पिएको जिम्मेवारी गतिशील भई नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएको छ ।
वातावरण संरक्षणमा अनपोलको वातावरण यूनिटसँग संयुक्त योजना निर्माण गरी काम गर्नुका साथै इबोला भाइरस फैलनबाट रोक्न तथा गोमामा भएको ज्वालामूखी विष्फोटमा अनपोल कर्मचारीहरूलाई सहयोग गर्न उहाँको योगदान प्रशंसनीय रहेको संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्