कर्पोरेट/पर्यटन

एक दशकदेखि शिथिल नगरकोटको पर्यटन ब्यूँताउन सडक महोत्सव

उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको नगरकोट सूर्योदयसंगै मनोरम हिमश्रृङ्खलाहरुको अवलोकनका लागि विश्वप्रख्यात छ ।

तर, २०७२ को भूकम्प र कोरोना भाइरस सङ्क्रमणले थला परेका नगरकोटको पर्यटन व्यवसाय अझै सजीव हुन सकेको छैन । यस बाहेक भक्तपुर नगरकोट सडकको दुरावस्था पनि मुख्य कारण रहेको छ ।

यसबीचमा नगरकोटको पर्यटनलाई चलायमान बनाउन कात्तिक २३ देखि २५ गतेसम्म तीनदिने सडक महोत्सवको आयोजना हुने भएको छ ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिले नगरकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै समितिका अध्यक्ष नवीन गुरुङले महोत्सवको तयारी पूरा भएको जानकारी दिनुभयो ।

उहाँले नगरकोटलाई आन्तरिक तथा बाह्य पर्यटनको मुख्य केन्द्र बनाउन र पर्यटकको आगमनलाई वृद्धि गराउने मुख्य उद्देश्य तथा स्थानीय रैथाने वस्तुका उत्पादनकर्तालाई लाभान्वित गर्न महोत्सवको आयोजना गर्न लागेको बताउनुभयो ।

यहाँका होटल तथा रेस्टुरेन्ट व्यवसायी र स्थानीय रैथाने उत्पादकको संलग्नतामा हुने महोत्सवमा स्थानीय किसान र साना व्यवसायीसँगै होटल तथा रेस्टुरेन्टका लागि २५ वटा स्टल बुक भएको बताउँदै अध्यक्ष गुरुङले महोत्सवमा आउने पर्यटकले स्थानीय रैनाथे खानाको स्वादसँगै राष्ट्रिय एवं स्थानीय कलाकारहरूको विभिन्न प्रस्तुति समेतको सांस्कृतिक कार्यक्रम हुने उहाँले बताउनुभयो । महोत्सवमा चङ्गा चेट प्रतियोगितासमेत हुने भएको छ ।

नगरकोट बसपार्क नजिकैको नगरकोट चोकमा हुने महोत्सवको अवधि भर यहाँका ठूला तथा साना होटलहरूले बसाइमा १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको बताउँदै अध्यक्ष गुरुङले केही होटलले आन्तरिक रूपमा त्यसभन्दा बढी पनि छुट दिन सक्ने बताउनुभयो ।

चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष एवं समितिका उपाध्यक्ष धनबहादुर तामाङले नगरकोटमा दिगो पर्यटन विकास गरी स्थानीय कला, संस्कृतिलाई पर्यटनसँग जोडेर यहाँको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउन महोत्सव सफल हुने बताउनुभयो ।

उपाध्यक्ष तामाङले नगरकोटलाई पर्यटकीय हब बनाउन चाँगुनारायण नपाले २०८२ साललाई पर्यटन वर्ष मनाउने नीति अघि सारेको त्यसका लागि चाँगुनारायण नगरपालिकाले यस वर्ष पूर्वाधारको विकासका लागि रु एक करोड बजेट विनियोजन गरेको बताउनुभयो ।

समितिका अध्यक्ष गुरुङले नगरकोटमा एकदेखि चार स्टारसम्मको ८२ वटा होटल तथा रिसोर्ट सञ्चालनमा रहेको बताउनुभयो । चाँगुनारायण नगरपालिका, मण्डनदउपुर नगरपालिका, बनेपा नगरपालिका र शङ्करापुर नगरपालिकाले महोत्सवमा सहयोग गर्ने भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.