राजनीति

सत्तारुढ गठबन्धनले बनायो समन्वय समिति, पहिलो नेतृत्व रामचन्द्र पौडेललाई

सत्तारुढ दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति बनाएका छन् । समन्वय समितिको बैठकको संयोजन हरेक पार्टीले दुईदुई महिना गर्ने सहमतिअनुसार पहिलो बैठकको संयोजन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नुहुनेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सोमबार बसेको बैठकले ११ सदस्यीय समन्वय समिति बनाएको हो ।

समन्वय समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्न । तर उहाँले आफू हरेक बैठकमा आउने बताउनुभएको छ । समितिमा सत्तारुढ गठबन्धनमा रहेका सबै दलबाट २–२ जना सदस्य रहनेछन् भने सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ ।

समितिमा सरकारको नेतृत्वकर्ता दल कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला सदस्य तोकिनुभएको छ भने माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)बाट उपेन्द्र यादवको नाम दिइएको छ ।

तीनै दलले एकएक जना सदस्यको नाम दिने बाँकी रहेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । यस्तै राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य छन् ।

न्यूनमत साझा कार्यक्रमको कार्यान्वयन गर्न सरकारलाई सहयोग गर्नु, राष्ट्रियताको रक्षा, संविधान र लोकतन्त्रको रक्षा तथा संस्थागत सुदृढिकरण, सुरक्षा, सुशासन, सेवा, विकास र संविधानअनुसार हुने चुनाव सफलतापूर्वक सम्पन्न गर्नु समन्वय समितिको काम भएको माओवादी नेता श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button