वासुदेव पौडेलको ‘तीन विधाका प्रवाह’ विमोचित
साहित्यकार वासुदेव पौडेलको मिश्रित कृति ‘तीन विधाका प्रवाह’ विमोचन गरिएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीस्थित ‘रमेश विकल साहित्य प्रतिष्ठान’को सभाकक्षमा कृतिको विमोचन गरिएको हो ।
चार दशक शिक्षण सेवामा सक्रिय रहेर अवकाश जीवन बिताइरहनुभएका पोडेलको यो पहिलो कृति हो । विमोचित कृतिमा कविता, कथा र निवन्धलाई समावेश गरिएको छ ।
स्थानीय बुद्धिजीवी अच्यूतप्रसाद चालिसेको सभापतित्व, प्रतिनिधिसभा काठमाडौं क्षेत्र नं. ३ का निवर्तमान सांसद सन्तोष चालिसेको प्रमुख आतिथ्यता तथा गोकर्णेश्वर नगपालिकाका प्रमुख दीपक रिसालको विशेष आतिथ्यमा कृति विमोचन गरिएको हो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चालिसेले वासुदेव पौडेलसंगको आफ्नो सम्बन्ध र उहाँमा रहेका ज्ञान, चेतना र साहित्यप्रतिको उत्सुकताप्रति आफू धेरै पहिलेदेखि नै जानकार रहेको बताउँदै प्रस्तुत कृतिले लेखकको सामाजिक व्यक्तित्वलाई उजिल्याएको बताउनुभयो ।
विशेष अतिथि नगरप्रमुख रिसालले आफ्ना गुरु समेत रहनुभएका पौडेलले विद्यालयमा पढाउनुभएको नैतिक शिक्षा र उहाँले व्यवहारमा उतार्नुभएको नैतिकताबीच कुनै भिन्नता नरहेको बताउनुभयो । नगरप्रमुख रिसालले गोकर्णेश्वर नगरपालिकाले भाषा, साहित्यको उत्थानमा सदैब सक्रिय रहने बताउँदै नगरपालिकाबाट सक्दो सहयोग गर्ने बचन दिनुभयो ।
गोकर्णेश्वर नगपालिका वडा नं. ९ का अध्यक्ष राजिब थापा र समालोचक युवराज मैनालीको आतिथ्यता रहेको समारोहमा कृतिका तीन विधामाथि तीन फरक फरक समालोचकले समीक्षा गर्नुभएको थियो ।
कृतिको पहिलो खण्डमा समावेश कवितामाथि दीपक लोहनीले समीक्षा गर्नुभएको थियो भने कथा खण्डको समीक्षा रमेशजंग थापा र निबन्ध खण्डको रमेशप्रसाद खनालले गर्नुभएको थियो । समालोचकहरुले कृतिकार पौडेलमा रहेको अध्यात्म चेत, सामाजिक नैतिकत र प्रकृति प्रेमको अगाध सुगन्ध कृतिबाट फैलिएको टिप्पणी गर्नुभयो ।
कृतिकार पौडेलले आफ्नो लेखन र प्रस्तुत कृतिका बारेमा छोटो मन्तव्य राख्नुभएको पुस्तक विमोचन समारोहमा लेखक पौडेलको व्यक्तित्वमाथि प्रकाश पार्दै गोकर्णेश्वर नगरपालिकाका वडा नं. ९ का वडाध्यक्ष राजिब थापा, साहित्यकार बाजुराम पौडेल, महेन्द्र चालिसे, युवराज मैनाली तथा पौडेलकी नातिनी समीक्षा नेपालले आआफ्ना धारणा राख्नुभएको थियो ।
समारोहमा पुस्तकका प्रकाशक लेखक पाडेलका सुपुत्र निर्मल पौडेलले धन्यवाद ज्ञापन गर्दै आफ्ना पिताले लेखेर राख्नुभएका पाण्डुलिपी खोनी गरी प्रकाशन गर्ने प्रतिबद्धता जनाउनुभयो ।





प्रतिक्रिया राख्नुहोस्